८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

संखुवासभामा बाढीबाट १ सय २५ भन्दा बढी परिवार विस्थापित



संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ भने करिब १ सय २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको बताइएको छ । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् ।

खाँदबारी ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तीमा १ सय १० परिवार विस्थापित भएका छन् । खेतबारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएको छ । डुङ्डुगे आकाशे सिंचाई र हिंगुवा कुलो सिंचाईमा बाढी पसेपछि ती परिवार विस्थापित भएका हुन् । धुपू बाह्रबीसे जोड्ने माल्टाखोला माथिको पक्की पुल जोखिममा परेको छ ।

खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पीडितहरु राहतको भन्दा पनि दिर्घकालीन समस्या समाधानको पर्खाईमा बसेका छन् ।

वर्षा धेरै भएकाले नदी किनारा, भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ । उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । बाढीले कम्तीमा ३ करोडको धनमाल क्षति भएको अनुमान गरिएको छ । त्यस्तै, चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्गअन्तर्गत मुढे –नुम र ठुलोढुंगा–अरुणथान सडकखण्ड पनि अवरुद्ध छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ४ : ५७ बजे