उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले पद बहाल गरेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरेर प्रगती विवरण दिएका छन् । उनले धेरै काम गर्न नसकेपनि आधारहरू तयार गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले धेरै काम गर्न नसकेको तर आधार तयार गरेको बताएका हुन् । ‘यो सय दिनमा हामीले आधार मात्रै बनायौं । धेरै ठूलो केही गर्न सकेको होइनौं । तर केही गर्ने आधार चाहिँ हामीले बनाएका हौं,’ उनले भने ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने अध्यागमनका कर्मचारीहरूलाई छुट्टै पोशाकको व्यवस्था गरिएको बताए । त्यस्तै गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रबन्ध गर्ने पनि उनले बताए ।
‘औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाइजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ। त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं,’ उनले भने, ‘गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ। निर्देशिका तयार गर्नेछ।’
त्यस्तै गृहले कन्ट्रोल एण्ड एक्सन रूम निर्माण गरेको छ।
नेपाल-चीनको सीमा क्षेत्रमा बसोबास गर्नेहरूको आवतजावतका लागि अध्यागमन, सिडिओ. लगायतले वितरण गरिने प्रवेश पासलाई सुरक्षणयुक्त, प्रविधिमैत्री र प्रभावकारी बनाउन तयार भएको नयाँ आवागमन अनुमति प्रणाली सञ्चालनका लागि कार्यविधि स्वीकृत भएको पनि उनले बताए।