२५ मंसिर २०८१, मंगलबार | Wed Dec 11 2024

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ



नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण आरोपमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका उपसचिव अर्याल स्याङ्जाको चापाकोट-९ फुलबारीका हुन् भने पाल्पा तानसेन नगरपालिका-३ का पदम राज आचार्य पनि पक्राउ परेको छ । उनी हाल यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अपरेटर हुन् ।

त्यस्तै, यातायात व्यवस्था कार्यालयका तत्कालीन शाखा अधिकृत पाल्पाको तानसेनका सुवास पौडेल, यातायात व्यवस्था कार्यालय जनकपुरका सहायक कम्प्युटर अपरेटर दिलिपकुमार शाह र यातायात व्यवस्था कार्यालय चितवनका सहायक कम्प्युटर अपरेटर राजेश लम्साललाई पक्राउ गरिएको छ ।

उनीहरुले फर्जी विवरणहरु ईन्ट्री गरी गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी गरेको पाइएको सीआईबीले जनाएको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ९ : ४५ बजे