११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

ऋणीलाई बलात्कार गरी घरजग्गा हडप्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना



ऋणीलाई बलात्कार गरी घरजग्गा हडप्नेलाई १० वर्ष कैद र ५० हजार जरिवानाको सजाय भएको छ । जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय गरेको हो ।

उनले ५ लाख ऋण लिएका ललितपुरकी एक महिलालाई बलात्कार गर्नुका साथै घरजग्गा कब्जा गरेका थिए । आइतबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको एकल इजलासले उनलाई सजाय तोकेको हो ।

अदालतले पीडित महिलालाई मालीले पाँच लाख रुपैया क्षतिपूर्ति भराउनुपर्ने पनि आदेश गरेको छ । महिलालाई यौन शोषण गर्न सघाउने उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ती भराउनुपर्ने आदेश भएको छ ।

पीडित महिलाले मदिराको कुलतमा फसेका श्रीमानको उपचार गर्न आफन्त पर्ने मालीबाट ०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । सो ऋणको मासिक ब्याज ५० हजार थियो । आयआर्जन नभएकी ऋणी महिलाले ऋणसापट गरेर मासिक ५० हजार रुपैयाँका दरले दुईपटक ब्याज तिरिन् ।

यसपछि ऋणको ब्याज घटाइदिने भन्दै मालीले उनीमाथि पटक पटक बलात्कार गरेका थिए । उनले अरुलाई पनि ती महिलालाई यौन शोषण गर्न लगाएका थिए । ब्याज घटेन, बरु बलात्कारको विषय सार्वजानिक गरिदिने भन्दै ५५ लाख रुपैयाँको (मिटरब्याज) तमसुक गराएर घरजग्गा नै कब्जा गरे ।

यसबारे पीडित महिलाले ०८० साउन १४ गते जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचविखन तथा ओसार पसार(नियन्त्रण)ऐन २०६४ अन्तर्गत ‘मानव बेचबिखन तथा ओसारपसार’ सम्बन्धी कसुर मुद्दामा जाहेरी दर्ता गरिन् । सोही कसुरमा ललितपुर जिल्ला अदालतमा ०८० भदौ ५ गते मुद्दा दर्ता गरिएको थियो ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ९ : २६ बजे