५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

हरेक नागरिकको थाप्लोमा ८२ हजार रुपैयाँ सार्जनिक ऋण



मुलुकको हरेक नागरिकको थाप्लोमा करिब ८२ हजार रुपैयाँ बराबर ऋणको भार थोपरिएको छ । सरकारले गरेको सार्वजनिक ऋणलाई नागरकिमा भाग लगाउने हो भने ८२ हजार बराबरको हुनेछ ।

सरकारले जेठ मसान्तसम्म तिर्न पर्ने सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यसलाई भाग लगाए नागरिकको थाप्लोमा ८२ हजार रुपैयाँ पर्ने छ । गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण १ खर्ब ९९ करोड रुपैयाँ बढेर २४ खर्ब नाघेको हो । यो सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.२४ प्रतिशत हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यो जनसंख्याले गत जेठसम्मको तिर्न बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा उक्त तथ्यांक निकालिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

हाल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्य १२ खर्ब ७ अर्ब ८६ करोड रुपैयाँ छ । गत जेठसम्मको तथ्यांक हेर्दा तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिकभन्दा बाह्य धेरै देखिन्छ । अघिल्ला महिनामा तिर्न बाँकी ऋणमध्ये बाह्यभन्दा आन्तरिक ऋण धेरै रहँदै आएको थियो । तर गत माघ महिनायता फेरि आन्तरिक ऋणभन्दा बाह्य बढी रहँदै आएको छ । यो अवधिमा बाह्य ऋण बढेको र सरकारले बाह्यको तुलनामा आन्तरिक ऋण धेरै भुक्तानी गरेकाले तिर्न कुल बाँकी ऋणमा बाह्यको अंश बढी देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ४ : ०९ बजे