आफ्नो भागमा परेको दुई राजदूतको सिफारिस गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले “राजदूत सिफारिस” मापदण्ड तय गरेको छ ।
एमालेलगायतका दलहरुले ८ जना राजदूत सिफारिस गरेपनि रास्वपाले आझै आफ्नो कोटाको राजदूत सिफारिस गरेको छैन ।
रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख तथा सांसद शिशिर खनाल संयोजकत्वको समितिले पार्टीको भागमा परेका राजदूतमा सिफारिसका लागि मापदण्ड तय गरेको हो । समितिमा सांसद सोबिता गौतम र विज्ञका रुपमा अतिन्द्र दाहाल सदस्य रहेका थिए ।
रास्वपाले राजदूत सिफारिस सम्बन्धी मापदण्ड, २०८१ मा लोकतन्त्रमा जनताको विश्वास बढाउनको लागि सरकारले जवाफदेहिताको सिद्धान्त अंगीकार गर्दै दलगत स्वार्थबाट माथि उठी व्यवहारमै उतार्न आवश्यक भएकोमा जोड दिने भनेको छ ।
कार्यदलले मापदण्ड तय गरेर रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको बताइएको छ । रास्वपाले राजदूत, संयुक्त राष्ट्रसंघका प्रतिनिधि, कूटनीतिक नियोगमा नाम प्रस्ताव गर्नुपर्ने अवस्था आएमा कस्ता व्यक्ति सिफारिस गर्ने भन्ने मापदण्ड कस्तो हुनुपर्छ भन्ने तय गरेको हो ।
रास्वपाले राजदूतका लागि तय गरेको मापदण्डमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको, भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियुक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको, नियक्ति हुँदाको बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको, कालो सूचीमा नपरेको, लाभको पद धारण गरी वा नगरी विदेशी राष्ट्रले नियुक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए सोबाट अवकाश लिएको १० वर्ष पूरा भएको उल्लेख छ ।
त्यस्तै कूटनीतिक र राजनीतिक अनुभव भएको व्यक्ति मापदण्डमा पर्ने भनिएको छ । नेपालको आन्तरिक राजनीति, परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, भूराजनीति र अन्तराष्ट्रिय सम्बन्धकोबारे गहन ज्ञान भएको व्यक्ति सिफारिस गर्नुपर्ने भनिएको छ । त्यस्तै, सम्बन्धित विषय र जिम्मेवारीको विषयमा स्पष्ट भिजन भएको र टिमलाई सफलतापूर्वक नेतृत्व गर्नसक्ने व्यक्ति भनिएको छ ।
अध्ययन, अनुसन्धान तथा विशेषज्ञता भएका व्यक्तिलाई सिफारिस गर्नुपर्ने भनिएको छ । अर्थ-र्थराजनीति, अर्थशास्त्र, कानुन, सार्वजनिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, समाज विज्ञानजस्ता विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिलाई सिफारिस गर्नुपर्ने रास्वपाको मापदण्डमा राखिएको छ ।
रास्वपाले छनोट विधि पनि सिफारिस गरेको छ । राजदूतका लागि पार्टी सदस्य, पदाधिकारी, शुभेच्छुक एवं आम नागरिकले लिखित सिफारिसका आधारमा हुनुपर्ने भनिएको छ । नाम प्राप्त व्यक्तिहरूको सूची र योग्यताको लगत निर्माण गर्नुपर्ने भनिएको छ ।
सम्भावना, क्षमता र सबलतालाई आधार मानी संक्षिप्त सूची तयार गर्नुपर्ने भनिएको छ । त्यसरी सूचीकृत व्यक्तिहरूलाई रास्वपा पार्टी सभापतिले खटाएको जिम्मेवार नेता वा नेताहरूको समूहले व्यक्तिगत छलफल गर्ने भनिएको छ । कार्ययोजना माग गरी अनौपचारिक अन्तर्वार्ता लिइने र अन्तिम सूचीबाट योग्ता क्रमका आधारमा रास्वपा सचिवालयको अनुमोदन पश्चात नियुक्ति सिफारिस गरिने विधि राखिएको छ ।









