२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

तपस्वी रामबहादुर बमजन बाल यौन दुर्व्यवहारमा दोषी ठहर



लिटि बुद्ध भनेर नाम कमाएका तपस्वी रामबहादुर बमजन बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर्ने फैसला गरेको हो । उनको सजाय भने असार १७ गते निर्धारण गरिने छ ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

यसै मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका तोप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जेबी गुरु भन्ने जितबहादुर तामाङले भने सफाइ पाएका छन् ।

यी दुई जनामाथि बमजनलाई लुकाउन र भगाउन भूमिका खेलेको अभियोग थियो ।

बमजनमाथी आफ्नो आश्रममा बस्ने आनीहरुमाथि यौन शोषण गरेको अभियोग थियो । बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो ।

अदालतमा उपस्थित गराएर बयान गराउँदा बम्जनले आफूमाथि लागेका आरोपको इन्कार गरेका थिए। बम्जनले अदालतमा आफू २०६२ सालको जेठ महिनादेखि सुरुमा बाराको रतनपुरी जंगलमा करिब १० महिना ध्यान गरेको बताएका थिए । १० महिना पिपलको रुखमुनी बसेर ध्यान गरेपछि ज्ञान प्राप्त गरेको उनले बयान दिएका छन् ।

त्यसपछि बारा जिल्लाकै हलखोरी जंगलमा करिब ८ वर्ष बसेर ध्यान गरेपछि सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १२ मा रहेको पत्थरकोट आश्रममा आएर ध्यानमा बसेको उनले बताएका थिए ।

बम्जनविरुद्ध बाराको रतनपुरी जंगलस्थित आश्रमबाट थप अनुयायीलाई बेपत्ता बनाएको आरोपमा बारा जिल्ला अदालतमा पनि मुद्दा चलिरहेको छ । बम्जन सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोट (चुरे क्षेत्र)मा आश्रम बनाएर केही वर्ष बसेका थिए ।

बमजन गत पुस २४ गते साँझ काठमाडौंको हात्तीगौंडास्थित एक घरबाट पक्राउ परेका थिए । उनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो । विलासी जीवनशैली भएका उनको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबर हुन्थ्यो ।

खानतलासीका क्रममा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ नगद भेटिएको थियो भने नेपाली र विदेशी मुद्रा जोड्दा ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ हुन्थ्यो ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  १० : ३९ बजे