११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

रास्वपाभित्रको खटपट, बैठक लाइभ गर्न महामन्त्रीको माग



स्थापनाको दोस्रो स्थापना दिवस मनाएको केही दिनमै राष्ट्रिस स्वतन्त्र पार्टीभित्र गम्भीर मतभेद बाहिरिन थालेको छ । एक्कासी पाएको सफलतालाई व्यवस्थापन गर्न नसकेको हो की भन्ने प्रश्न उठ्न थालेको छ ।

हालै मात्र पार्टी महामन्त्री मुकुल ढकालले एक महिना देशका विभिन्न स्थानमा पुगेर करिब २ हजार जनासँग अन्तर्क्रिया गरेर ल्याएको समीक्षा प्रतिवेदनले पार्टीभित्रको मनमुटाव बाहिर ल्याएको हो ।

उनले पार्टी यही अबस्थामा अघि बढिरहे बिघटनको बाटोमा जाने भन्दै भनाई सार्वजनिक गरेपछि त्यसले थप समस्या पैदा गरेको छ । पार्टिका अन्य जिम्मेवार पदाधिकारीहरुले भने उनी आफै मुख्य पदमा रहेर र आफ्नै प्रस्ताव अनुसार पार्टी सञ्चालन गरेर यस्तो अभिव्यक्ति दिनु गलत रहेको बताइरहेको छन् । साथै पार्टी उनले भने जस्तो विग्रिएको अबस्थामा रहे मुख्य दोषी उनी नै हुनेसमेत नेताहरुको भनाई रहेको छ ।

अहिले महासचिव ढकालले भने एक पछि अर्को प्रस्ताव पार्टी भित्र ल्याइरहेका छन् । त्यही सिलसिलामा पछिल्लो पटक आइतवार उनले पार्टी केन्द्रिय कमिटीको बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् । यसअघि बैठक पूर्ण गोप्य हुनुपर्ने प्रस्ताव ल्याउने र त्यसलाई पारित गरेर कार्यान्वयन गराउने पनि उनी आफै हुन् । उनले बैठकमा सभापति र आफु बाहेक अन्यलाई मोबाइल, क्यामेरा, रेकर्डरलगायतका सामाग्रीहरु लैजान नपाउने नियम बनाएका थिए ।

तिनै ढकालले बुधबारका लागि डाकिएको केन्द्रीय समिति बैठकको भने लाइभ प्रसारण गर्न माग गरेका छन् । देश दौडाहापछि काठमाडौं फर्केर सभापति रवि लामिछानेलाई ३२ पाने प्रतिवेदन बुझाएका उनीबारे पार्टीभित्र कोणप्रतिकोणबाट टिप्पणी भइरहेको बेला उनले उक्त माग गरेका हुन् ।
‘जो जे हो, त्यही रुपमा प्रकट होस् भनेर बैठक लाइभ हुनुपर्ने माग गरिएको हो’ उनले भनेका छन् ।

यसअघि उनले आफुले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए । उनले प्रतिवेदन सार्वजनिक गरेपछि मात्र बैठक बस्नु पर्ने विषयमा अडान राख्दै आएको थियो ।

साथै उनले विभिन्न सन्दर्भमा प्रतिवेदनका अंशहरुसमेत सार्वजनिक गर्दै आएको थियो । साथै आफुलाई कारवाही हुन सक्नेसमेत बताएका थिए ।

यिनै विषयलाई लिएर महासचिव ढकालसँग पार्टी स्पष्टिकरणसमेत मागिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  २ : ५८ बजे