२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

कांग्रेस-एमालेबीच सत्ता साझेदारीको सहमति, दाहालले तत्काल राजीनामा नदिने



संसद्का दुई ठूला दल कांग्रेस र एमाले अप्रत्यासित रुपमा सत्ता साझेदारी गर्ने सहमति गरेका छन् । सोमबार मध्यराती उनीहरुले सत्ता साझेदारीको सहमति गरेका हुन् ।

संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने भन्दै उनीहरुले वर्तमान माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन गर्न सहमति गरेका हुन् ।

निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका हुन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर भएको नेताहरुले बताएका छन् ।

नेताहरुका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि दुई दलबीच भएको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने नेताहरुको दावी छ ।

राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ । नयाँ सत्ता समीकरणको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ । एमाले सरकारबाट अलग भएर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्ने निश्चित छ ।

दाहालले राजीनामा नदिने, विश्वासको मत लिने

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएपनि प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री दाहालले संवैधानिक प्रावधान अनुसार संसद्भित्र विश्वासको मतको सामाना गर्ने बताएका छन् ।

माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले बताए । ‘गलेर सरकार छोड्ने कुरा हुँदैन, संसद् फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो’ पौडेलले भने ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  २ : २६ बजे