गत हप्ताको कमजोर राष्ट्रपतीय बहस पछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको राष्ट्रपतीय चुनावी अभियानका सदस्यहरु उनी “देश चलाउन सक्षम छन्” भन्ने सन्देश मतदाताहरुलाई प्रवाह गर्न संघर्ष गरिरहेका छन् । यही बेला रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदबार डोनाल्ड ट्रम्प भने सर्वोच्च अदालतले दिएको उम्मुक्तिले उत्साहित छन् ।
न्यु योर्क टाइम्स/सिएना र वाल स्ट्रीट जर्नलले बुधबार जारी गरेको सर्वेक्षणले गत हप्ताको राष्ट्रपतीय बहस पछि राष्ट्रपति बाइडेनले ट्रम्पलाई जम्मा ६ प्रतिशत अंकले पछि पारेको देखाएको छ । यो कमजोर अबस्थामा वाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबै जनाले बाइडेन शासन गर्ने क्षमता रहेको बताउन लागि परेका छन् ।
तर उनीहरुका लागि यो सजिलो भने भइरहेको छेन । जुन २७ को बहसमा बाइडेनको कमजोर प्रस्तुति पछि आफ्नै पार्टी डेमोक्र्याटका एक दर्जन तल्लो सदनका सदस्यहरुले बाइडेनलाई राष्ट्रपतीय चुनावी दौड छाड्न आग्रह गरेका छन् । यसरी आग्रह गर्नेहरु मध्ये कम्तीमा पाँच वर्तमान सांसदहरुले सार्वजनिक रूपमा नै अपील गरेका छन् । टेक्सासका लोयड डगेट, एरिजोनाका राउल ग्रिजाल्भा, म्यासाचुसेट्सका सेथ मोल्टन, इलिनोइसका माइक क्विग्ले र मिनेसोटाका एन्जी क्रेग त्यसरी सार्वजनिक रुपमा बाइडेनलाई पछि हट्न आग्रह गर्ने नेताहरु हुन् ।
त्यसैगरी वरिष्ठ सांसदहरु न्यूयोर्कका जेरी नाडलर, क्यालिफोर्नियाका मार्क ताकानो, वासिंगटनका एडम स्मिथ, न्यूयोर्ककै जो मोरेल र न्यूयोर्ककै अल्पसंख्यक नेता हकिम जेफ्रीले पनि आन्तरिक रुपमा बाइडेनलाई पछि हट्न भनि सकेका छन् ।
कतिपय नेताहरुले राष्ट्रपतीय चुनावबाट बाइडेन पछि हटेर उपराष्ट्रपति ह्यारिसलाई अघि सार्द ट्रम्पलाई जित्न सकिने पनि मत राखेका छन् । तर बाइडेनले भने यस्ता आग्रहहरु अस्वीकार गर्दै आफ्नो अभियानलाई तिब्र बनाएका छन् । उनले भनेका छन्, “म भगवानले भन्न आएमा मात्र अभियान छाड्छु ।”
उनले शुक्रबारदेखि म्याडिसन, विस्कॉन्सिन र ह्यारिसबर्ग, पेन्सिलभेनियामा प्रचार कार्यक्रममा पटक पटक पछि हट्न अस्वीकार गरे । उनले ट्रम्पलाई हराउनका लागि आफु नै उपयुक्त पात्र भएको बताउँदै आएका छन् ।
राष्ट्रपतीय चुनावबाट पछि हट्ना पार्टी भित्रैबाट बढ्दै गएको दवावका बावजुद अगामी दिनमा वाइडेनको अभियान कसरी अघि बढ्ला भन्ने अन्योल कायमै छ ।