८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

रास्वपाले मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताबाट हटायो, ढकाल भन्छन्, रवि लामिछाने क्लबबाट निकालिएँ



दुई वर्षअघि रवि लामिछानेसँग मिलेर आफैले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रबक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाल हटाइएका छन् ।

गत साता अस्थायी रुपमा एक साताको लागि मात्र मात्र ती पदबाट हटाइएका ढकाललाई पार्टी अनुशासन आयोगको सिफारिसमा कारवाही गरिएको हो । आयोगले साधारण सदस्यबाटसमेत हटाउन सिफारिस गरेपनि केन्द्रीय समितिले साधारण सदस्य भने कायमै राखेको छ । उनलाई पुनरावेदनका लागि ३५ दिनको समय पनि दिइएको छ ।

यसअघि गत बुधबार (असार १९) सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो । त्यसबेला पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गरिएको थियो ।

केन्द्रीय समितिको बैठकको लाइभ प्रसारण नगरेकाले बोल्ने स्वतन्त्रता हनन् भएको भन्दै उनले बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर बसेका थिए । ढकालले एक महिना लगाएर तयार पारेको समिक्षा प्रतिवेदन सार्वजनिक गर्न पार्टीसँग माग गरेका थिए । त्यही क्रममा पार्टी भित्रको विवाद छताछुल्ल भएको थियो ।

उनले पार्टी भित्र मौलाएको सत्ता लिप्साका कारण यही ढंगबाट चले आगामी निर्वाचनमा पार्टी राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने पार्टीमा एकलौटी ढंगले चलेकोसम्मका आरोप लगाएका थिए ।

तर यसैलाई पार्टीका अरु नेताहरुले ढकालको अराजकता भनेका छन् भने अनुशासन आयोगले अनुशासन हीन र पार्टीबिरुद्धको क्रियाकलाप भनेर कारवाहीको सिफारिस गरेको हो ।

यसैबीच उनले सामाजिक सञ्जालमा आफु रास्वपाबाट नभई रवि लामिछाने क्लबबाट मात्र निकालिएको भन्दै रास्वपालाई रवि लामिछाने क्लबबाट पार्टीमा रुपान्तरण गर्न लागि रहने बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  १ : २५ बजे