राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सहकारी ठगी र पासपोर्ट दुरुपयोगमा छानबिन गर्न माग गरेका छन् ।
पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेप्रति असन्तष्टी जनाउँदै उनी माथि संगीन प्रश्नहरु उठाएका हुन् ।
उनले सभापति लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे । पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’ साथै उनले रविमाथीको छानविन समितिमा बस्नेहरु लामिछानेले छानेका नभई राजदूत छनोट जस्तै प्रक्रियाबाट ल्याउनुपर्ने पनि उनको माग छ ।
उनले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्नुपर्ने उनको माग छ । यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै उनले भने, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ ।’
उनले जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै आगामी महिना प्रस्ताव यात्रा सुरु गर्ने र कसरी जाने भनेर जनतालाई सोध्ने पनि बताए ।
असर १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने भने उनले स्वीकार गरेका छन् । तर त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक राख्नु पनि कमजोरी भएको उनले बताए । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी गरे ।
त्यसैगरी पत्रकार सम्मेलनमा उनले रास्वपाभित्र ठूला आर्थिक अपारदर्शिता रहेको बताएका छन् । उनले उपसभापति डीपी अर्यालले पार्टीका लागि दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्ने गरेको पनि आरोप लगाएका छन् । उनले भने, ‘दुई साताअघि पनि त्यस्तो भएको छ ।’
कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गर्ने गरेको ढकालले बताए । ‘आर्थिक पारदर्शिताको कुरा गरिएको छ । आर्थिक हिसाबकिताब क्लियर गर्नुपर्छ । डीपी अर्यालले साथीहरुले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ,’ ढकालले भने, ‘ऋण भन्दै दुई साताअघि पनि त्यस्तो गर्नुभएको छ ।’
उनले पार्टीसँग रसिदबिना कारोबार नगर्न अनुरोध गरेका छन् । ‘आर्थिक हिसाबकिताब पारदर्शी हुनुपर्छ । को व्यक्तिले कति पैसा दियो ? सामान किनबेचबाट कति प्राप्त भयो क्लियर हुनुपर्छ,’ ढकालले भनेका छन् ।