३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

कृषि विकास सहकारीमा एक अर्ब रुपैयाँ अपचलन, १२ जनाबिरुद्ध मुद्दा



कृषि विकासको लागि भन्दै खुलेको कृषि विकास बहुउदेश्यीय सहकारीका सञ्चालकहरुले टीभीदेखि अस्पतालसम्म लगानी गरी बचतकर्ताको एक अर्ब रुपैयाँ अपचलन गरेको भेटिएको छ ।

करिब एक अर्ब अपचलन गरेको आरोपमा उक्त सहकारीका सञ्चालकसहित १२ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेर जिल्ला प्रहरी प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।

पक्राउ परेका चार बाहेक अन्यलाई फरार प्रतिवादी बनाइएर मुद्दा दायर गरिएको हो । फरार प्रतिवादीहरूमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारी रहेका छन् ।

त्यसैगरी सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।

यो समूहले ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेको थियो । सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै सहकारी ठगीको कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ४ : ५२ बजे