प्रधानमन्त्री पुष्पकमल दाहाललाई थप तीन साना दलले पनि विश्वासको मत नदिने भएका छन् । संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमालेले गठबन्धन बनाएर नयाँ सत्ता समीकरण बनाएछि अल्पमतमा परेको प्रधानमन्त्री दाहालले शुक्रबार संसदमा विश्वासको मत लिंदै छ ।
अल्पमतमा परिसकेका कारण राजीनामा दीन कांग्रेस र एमालेले बारम्बार आग्रह गर्दा पनि नमानेर विश्वासको मत लिने तयारी मारेका प्रधानमन्त्री दाहाललाई जनमत, जसपा र राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरेका हुन् ।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बिहीबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए । प्रतिनिधिसभामा जनमतका छ सांसद छन् । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । सो पार्टीको बिहीबार भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको हो ।
साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री दाहालबाट संविधानका धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ ।’