१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

सिमलताल दुर्घटनामा हराएका बस अझै भेटिएन, ६५ यात्रुमध्ये तीन जीउँदै, पाँचको शव भेटिए



नारायणगढ-मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बस अझै भेटिएको छैन । बसमा सवार ६५ यात्रु मध्ये तीन जना सकुशल छन् भने पाँच वटा शव भेटिएको छ । बाँकी ५८ जनाको अझै अत्तोपत्तो छैन ।

त्रिशूलीमा हराइरहेको काठमाडौंदेखि गौर जाँदै गरेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा उक्त बसमा थप ११ यात्रु रहेको खुलेको छ । ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु सकुशल छन् ।

त्यसै गरी वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा चार जना गरी कुल २७ जनाले यात्रा गरेको बताइएको छ । दुवै बसमा ६५ जनााले यात्रा गरेको भए पनि तीन दिनदेखिको लगातार खोजी कार्यका बाबजुद ५८ जना अझै बेपत्ता छन् ।

आइतबार बिहान भरतपुर महानगरपालिकाको गोलाघाट र नवलपुरको गैंडाकोटमा एक-एक वटा शव भेटिएको थियो । दुवै जना भारतीय नागरिक भएको खुलेको छ ।

गैंडाकोटमा भेटिएको शव भारतको विहार राज्य बेतिया जिल्लाका ४० वर्षीय सज्जाद अन्सारीको रहेको खुलेको छ । उनका दाइ मेराज हुसेनले शवको सनाखत गरेका छन् । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्सका यात्रु हुन् ।

गोलाघाटमा भेटिएको शव पनि भारतको विहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ३० वर्षीय जयप्रकाश ठाकुरको भएको पुष्टि भएको छ । उनी काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सका यात्रु थिए । उनको पनि दाइ ओमप्रकाश ठाकुरले शवको सनाखत गरेका हुन् ।
यसअघि शनिबार गोलाघाटमा एक र गैंडाकोटमा दुई जनाको शव फेला परेको थियो ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ५ : ०८ बजे