११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

को हुन् ट्रम्पलाई गोली हान्ने थोमस म्याथ्यू क्रक्स, किन हाने गोली?



पेन्सिलभेनियको बट्लरमा अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रपतिका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने थोमस म्याथ्यू क्रक्स को हुन् र उनको मनसाय के थियो भन्ने बारेमा अमेरिकी जाँच एजेन्सी मात्र होइन, सञ्चार माध्यमहरु पनि लागि परेको छ ।

शनिबार राती ट्रम्पको चुनावी र्‍याली भइरहेको बट्लरबाट केही ४३ माइलको दुरीमा रहेको बेथेल पार्कको सानो पिट्सबर्ग उपनगरमा बसोबास गर्ने एक युवा क्रक्सले ट्रम्पमाथी गोली चलाएको खले लगतैदेखि खोजविन सुरु भएको हो ।

उनले गोली चलाउँदा ट्रम्प भीडलाई सम्बोधन गरिरहेका थिए । गोली प्रहारबाट ट्रम्पको कानमा चोट लागे पनि उनी बच्न सफल भए भने एक जनाको ज्याज गयो र अरु दुई जना गम्भीर घाइते छन् । क्रक्स आफै भने अमेरिकी सेक्रेट एजेन्सीका अधिकृतले चलाएको गोली लागि मारिएका छन् ।

जाँच कर्ताहरुले अर्ध-स्वचालित एआर-१५ राइफलबाट क्रुक्सले गोली चलाएको निष्कर्ष निकालेको छ । २० वर्षीय भान्सा कामदार रहेका क्रक्सले गोली चलाएको विषयमा उनको सानो गृहनगरका नागरिकहरु भने अश्चर्यमा छन् । उनका छिमेकीहरूले एक शान्त युवकले कसरी गोलीबारी गर्न सक्ला भनेर सोचमा छन् ।

मारिएका बेला थोमस क्रुक्ससँग उनको पहिचान खुल्ने कुनै पनि परिचयपत्र थिएन । त्यसैले अन्वेषकहरूले उनको पहिचान गर्न डीएनए र अनुहार पहिचान प्रविधि प्रयोग गरेका थिए । उनले २०२२ मा बेथेल पार्क हाई स्कूलबाट गणित र विज्ञान विषयलिएर स्नातक गरेको स्थानीय अखबारहरुले उल्लेख गरेका छन् । साथै त्यही स्कूलमा रहेको उनको तस्बिर पनि सार्वजनिक भएको छ ।

बीबीसीका अनुसार क्रुक्स आफ्नो घरबाट केही टाढाको स्थानीय नर्सिङ होमको भान्छामा काम गर्थे । अमेरिकी सञ्चारमाध्यमका अनुसार राज्यको मतदाता रेकर्डले उनी दर्ता भएको रिपब्लिकन भएको देखाउँछ । उनले २०२१ मा उदार अभियान समूहलाई १५ डलर दान गरेको पनि देखिएको छ । साथै उनी कम्तिमा एक वर्षको लागि स्थानीय शूटिंग क्लब, क्लेयरटन स्पोर्ट्समेन क्लबको सदस्य रहेको पनि खुलेको छ ।

सञ्चार माध्यमहरुका अनुसार गोली हान्न प्रयोग गरिएको हतियार भने क्रुक्सका बुबाले किनेको विश्वास गरिएको छ । साथै क्रुक्सले बन्दुक र विष्फोटक पदार्थको सम्बन्धी युट्युब च्यानल डेमोलिसन रेन्चको टी-सर्ट पनि लगाएका थिए । साथै उनको गाडीमा केही संदिग्ध उपकरणहरू फेला परेको पनि बताइएको छ ।

अनुसन्धानमा सहभागी अधिकारीहरुका अनुसार अहिले उनले आफ्ना बाबुआमाका साथ बसोबास गर्ने क्षेत्रलाई सिल गरेर अन्साधान गरिरहेको छ । यद्यपी उनको ट्रम्पलाई गोली हान्नुको उदेश्यका बारेमा भने पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ३ : ०१ बजे