यस वर्षको मनसुन सुरु भएयता विपदमा परेर शनिबारसम्म १ सय २८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता प्रहरीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ ।
बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् ।
त्रिसुलिमा बगेको दुई बस अझै भेटिएन
गत असार २८ गते (शुक्रबार) त्रिशूलीमा खसेर बेपत्ता भएको दुईवटा बस अझै भेटिएको छैन । शनिबारसम्म २५ जनाको शव फेला परेको छ भने अझै ३७ यात्रु बेपत्ता छन्।
सुरक्षाकर्मीले फेला पारेका २५?मध्ये ८ वटा शवको सनाखत हुन सकेको छैन भने १७ जनाको भने शव सनाखत भएको छ।
पछिल्लो अपडेट अनुसार, बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्सका मालिक पनि सोही बसमा सवार थिए । भक्तपुरको चाँगुनारायण–५ घर भएका राजेन्द्र लामिछाने सोही बसका मालिक रहेको प्रहरीले बताएको छ। उनको शव भारतको बगाहमा फेला परेको हो ।