संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू दोस्रो पटक राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन् । साथै आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने जनाएका छन् ।
८१ वर्षीय बाइडेनलाई पार्टी भित्रैबाट चुनाबी दौडबाट पछि हट्न दवाव बढ्दै गएको थियो । उनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो “पार्टी र देशको हितका लागि” आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको घोषणा गरे । उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले “ठूलो सम्मानको रूपमा लिएको” उल्लेख गर्दै आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
अमेरिकी पहिलो महिला उपराष्ट्रपतिको परिचय बनाएकी ह्यारिसलाई पार्टीका महत्त्वपूर्ण व्यक्तित्वहरूले समर्थन गरिसकेका छन् । यसरी समर्थन गर्नेको अग्रपंक्तिमा बिल र हिलारी क्लिन्टन छन् । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले ह्यारिसलाई निडर, दृढ र कठिन उम्मेदवार भन्दै उनी डोनल्ड ट्रम्पलाई हराउने सबैभन्दा उत्तम उम्मेदवार भनेका छन् । न्यूसम आफैँ डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका आकाङ्क्षी थिए र उनले कमला ह्यारिससँग प्रतिस्पर्धा गर्ने ठानिएको थियो ।
पूर्वराष्ट्रपति बराक ओबामाले भने ह्यारिसको मनोनयनबारे मौन रहँदै जो बाइडनको प्रशंसा गरेका छन् । उनले एक विज्ञप्ति सार्वजनिक गर्दै बाइडनलाई “उच्च कोटिको देशभक्त” भनेका छन् । ह्यारिसले पनि बाइडनको निर्णयलाई देशभक्तिपूर्ण भन्दै प्रशंसा गरेकी छन् । यद्यपी अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ । आधिकारिक रुपमा उम्मेदवार हुन भने त्यस बेलासम्म कुर्नुपर्ने छ ।
रिपब्लिकनका तर्फबाट भने पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार चयन भइसकेका छन् । पेन्सिल्भेनिआको एक चुनावी सभामा गोली प्रहारबाट उनको हत्या प्रयास भएको पाँच दिन पछि रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको थियो ।