नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले आयोजना गरेको “सांस्कृतिक गाला“ कार्यक्रम सम्पन्न भएको छ । फिप्नाले संस्थाको फन्ड रेजिङको उद्देश्य राखेर ज्याक्सन हाइटको गुल्सन टेरेसमा कार्यक्रम आयोजना गरेको हो ।
फिप्नाले, नेपाली आदिवासी संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथै नयाँ पहलहरु सुरु गर्नका लागि “सांस्कृतिक गाला” कार्यक्रम आयोजना गरेको महासचिव दिपक चौधरीले जानकारी दिए । सांस्कृतिक गाला एउटा कार्यक्रममा मात्र सिमित नरही संस्था सञ्चालनका लागि महत्वपूर्ण आवश्यकताहरु सम्बोधन गर्न र वकालतको लागि सहयोगी हुने आयोजकले अपेक्षा गरेको छ । यो कार्यक्रमले संस्थालाई आर्थिक रुपमा सशक्त बनाई समुदायमा सकारात्मक परिवर्तनका लागि एउटा महत्वपूर्ण कदम हुने महासचिव चौधरीको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै फिप्नाका अध्यक्ष तोरण गुरुङले संस्कृति संरक्षण र सामुदायिक सशक्तिकरणको अभियानलाई सघाएकोमा प्रायोजकहरुलाई धन्यवाद व्यक्त गरे । समुदाय संस्कार र संस्कृतिमा सम्पन्न र धनी भएकोमा गर्व लागेको बताउँदै अध्यक्ष गुरुङले एउटै स्टेजमा विभिन्न खाल् संस्कार र संस्कृति झल्कने नृत्य प्रस्तुत गर्नु पाउँदा आफुलाई एकदमै खुशी लागेको पनि बताए ।
अध्यक्ष गुरुङले कार्यक्रम सफल बनाउनको लागि अहोरात्र खटिएका कार्यसमिति सदस्यहरु, सहयोग गर्ने जातीय संस्थाका प्रतिनिधिहरु, सल्लाहकारहरु, विभिन्न संस्था प्रतिनिधित्व गर्दै उपस्थित कलाकारहरु, पूर्व अध्यक्षहरु लगायत स्वेयंसेवकहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम महासचिव दिपक चौधरी र सचिव डाजिमा शेर्पाले सचांलन गरेका थिए ।
कार्यक्रममा फिप्नामा आबद्ध सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकार , संघीय परिषद्का उपसभामुख , बिभिन्न पेशामा अवद्ध स्पोन्सरहरू , कलाकारहरू, पत्रकार एवं अन्य आमणन्त्रित ब्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरूले आ-आफ्नो कला संस्कृति, भेषभुषा र पहिरन झल्किने बिशेष किसिमको नृत्य तथा गीत प्रस्तुत गरेका थिए । प्रत्येक सदस्य संस्थाबाट मौलिक नाच माग गरेकोमा १० वटा संस्थाबाट आदिवासी जनजातिहरूको रितीरिवाज, धर्म, संस्कृति र परम्परालाई दर्शाउने प्रस्तुति प्राप्त भएको फिप्नाका महिला उपाध्यक्ष तथा सांस्कृतिक संयोजक ममता राईले बताए । कार्यक्रममा अमेरिकन कलाकार संघका अध्यक्ष वसन्ती राई, वरिष्ठ उपाध्यक्ष विमल डाँगी र महासचिव संगिता थापा मगरले पनि सौजन्य प्रस्तुति दिएको सांस्कृतिक संयोजक राईले जानकारी दिए ।
कार्यक्रमले संस्कार, संस्कृति संरक्षण र प्रबर्धन गर्नुका साथै आदिवासीहरूको मुद्दाका बिषयमा सबै आदिवासी जनजातिहरू एकजुट हुनु जरूरी रहेको सन्देश दिएको आयोजकले जनाएको छ । कार्यक्रममा सह—कोषाध्यक्ष दावा ल्हामो शेर्पाले साईलेन्ट अक्सनको कार्यक्रम समेत सञ्चालन गरेका थिए । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष तथा खाना संयोजक राम कृष्ण महर्जनले नेवारी टिपीकल खाना व्यवस्था गरेका थिए । साथै कोषाध्यक्ष कृष्ण माया महर्जन, सचिव शान्ति गुरुङ, सदस्य तिर्थ तामाङ उपस्थित अतिथिहरुको स्वागत तथा व्यवस्थापनमा जुटेका थिए । सदस्य संस्थाले स्वेयंसेवक प्रतिनिधिको रुपमा युवा भाइबहिनीहरुलाई सहयोगको लागि उपस्थित गराएका थिए ।