११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

नेफिनले ३० औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउने



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३० औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ ।

नेफिनले सोमबार पत्रकार सम्मेलन गरी अगस्ट ९ (साउन २५ गते) का दिन ३० औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउन लागेको जानकारी दिएको हो ।

विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् । नेफिनले यो वर्ष “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर” भन्ने मूल नारासहित विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यस वर्ष संयुक्त राष्ट्रसंघले “स्वैच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण” भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । सोही सन्दर्भमा नेपालका आदिवासी जनजाति समुदायहरूले साउन २५ गते शुक्रबारका दिन नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषा सहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिहरूको भव्य प्रस्तुतिलाई प्रतिविम्बित गर्ने तयारी गरेका छन् ।

सांस्कृतिक झाँकी सहितको र्‍याली ११ बजे भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ । नगर परिक्रमा पछि प्रज्ञा भवनको सभाहलमा मूल समारोह सुरु हुने बताइएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्रीज्यूहरू, पार्टी प्रतिनिधिहरू, संवैधानिक निकायका प्रमुखहरू, माननीय सांसदहरू, महासंघका पूर्व प्रमुखहरू, विभिन्न आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धन संगठनका अध्यक्षहरू लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति संघ संस्थाहरूबाट हजारौँको उपस्थिति रहने छ ।

३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रज्ञा भवनको पछाडि पट्टी रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनहरू प्रदर्शनी (फुड फेस्टिभल) तथा विक्री वितरण स्टलहरू पनि राखिने आयोजकले जानकारी दिएका छन् । दिवसको अवसरमा नेफिनसँग आबद्ध विभिन्न जातीय संस्थाहरू र सम्बन्धन संगठनहरूद्धारा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू समेत गर्दै आएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले संविधानमा व्यवस्था गरिसकेपछि त्यसलाई ऐन, कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारले २०७२ सालमा जारी गरेको संविधानमा उल्लेख भएका आदिवासी जनजातिको अधिकार कार्यान्वयन गराउनका निम्ति आन्दोलन केन्द्रित गर्नुपर्ने बताए ।

‘सरकारले २०७२ सालमा जारी गरेको संविधान अपुरो थियो । अब सरकारले संविधान संशोधनको कुरा गरेको छ । यदि हाम्रो माग पुरा हुने संविधान बनेन भने हामी त्यो संशोधन स्वीकार गर्दैनौँ । त्यो संविधान मान्दैनौं’ उनले भने ।

यसैगरी नेफिनका महासचिव दिवस राईले ३१ वर्षसम्म आइपुग्दा नाराको मुख्य विषय आन्दोलनमा केन्द्रित भएपनि यो वर्षदेखि संविधानले दिएको अधिकार कार्यान्वयन गराउनेतर्फ केन्द्रित भएको बताए । उनले भने, ‘यस वर्ष नारा निर्माण गर्दा संविधानले दिएको संरक्षित कुराहरू राज्यले नदिएका कारण राज्यलाई घचघच्याउन केन्द्रित गरेका छौं । सबै भाषालाई बाहुल्यताअनुसार त्यो क्षेत्रमा सरकारी कामकाजको भाषा बनाउन पनि हामीले सरकारलाई घचघच्याउन आवश्यक छ । सरकारले हाम्रो भाषालाई दबाएको छ । त्यसको उजार गर्न र कामकाजमा ल्याउनका निम्ति हामीले यस वर्षको नारामा उल्लेख गरेका छौँ ।’

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ५१ बजे