विगत १६ दिनदेखि अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट हराइ रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्टको खोजीमा सहयोगको लागि प्रहरीले अपील जारी गरेको छ ।
उनी हराएको १५ औ दिनसम्म पनि फेला पार्न नसकेपछि बिहीबार मनासस पार्क प्रहरी विभागले एक बिज्ञप्ति जारी गरेर खोजीमा सहयोगको लागि अपील गरेको हो । बिज्ञप्तीमा प्रहरी विभागले कसैले ममताको बारेमा जानकारी प्राप्त गरेमा मनासस पार्क प्रहरी विभागको ७०३–३६१–११३६ नम्बरमा फोन गरेर जानकारी गराउन भनिएको छ ।
प्रहरीले ममता र उनको खोजविनको लागि हालसम्म भए गरेका कार्यहरुको पनि विवरण दिएको छ । प्रहरीले अगष्ट २ मै ममताको घरमा पति नरेश भट्टसँग भेट गरेको र उनले जानकारीहरु उपलब्ध गराएको भएपनि हराएको भनेर रिपोर्ट गर्न नचाहेको उल्लेख गरेको छ । तर अगस्त ५ मा भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएको उल्लेख गरिएको छ ।
त्यसपछि प्रहरीले भर्जिनिया राज्यव्यापी रुपमा हराएको व्यक्तिको सूचीमा ममतालाई राखेको र उनको खोजीका लागि गरेको उल्लेख गरेको छ । अगस्त ५-८ को बीचमा विस्तृत अनुसन्धान गरिएको उल्लेख गर्दै जुलाई २७ मा ममता काफ्ले अन्तिम पटक युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखा परेको, जुलाई २८ मा ममता काफ्लेले साथीसँग कुरा गरेको र जुलाई ३१ का दिन उनको श्रीमानले अन्तिम पटक देखेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले ममताको फोटोसहितको विवरण सार्वजनिक गर्दै उनी ५ फिट अग्लो रहेको, कालो कपाल र ब्राउन आँखा भएको उल्लेख गरेको छ ।
ममता बेपत्ता भएको सम्बन्धमा उनका आफन्त तथा नेपाली समुदायले चाँडो खोज्न र उनको अबस्था पत्ता लगाउन दवाब दिनका लागि मानस पार्क प्रहरी विभाग अगाडी प्रदर्शन गर्ने गरेका छन् ।