गौरा पर्व मनाउन काठमाडौंको टुँडिखेलमा भेला भएकाहरु मध्ये केही युवाले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए ।
नेताहरु आएपछि केही युवाहरुले नारावाजी गरेका थिए । कतिपयले प्रधानमन्त्री ओलीको नामै लिएर पनि मुर्दावादको नारा लगाएका थिए । कतिपयले ‘ढुंगा हान, बालेन’ लगायत शब्द उच्चारण गरेर नारावाजी गरेका थिए ।
त्यही क्रममा देउवा बोल्नका लागि मञ्चमा उक्लिए पछि झन चर्को नारा लगाएका थिए । त्यही क्रममा देउवाले रिसाएर ”बदमास” हरु कार्यक्रम विथोलुन आएको बताएका थिए ।
उनले “यही हो सिकेको संस्कार ? अरुको कार्यक्रम विथोल्न आउने” भन्दै यस्ताहरुलाई हटाउनु पर्नेसमेत बताएका थिए ।
‘तपाईंहरू जति कराउनुछ कराउनुस् । लाज पनि छैन गौरा पर्वको कार्यक्रम विथोल्ने?,’ देउवाले भने, ‘यही हो नेपालको चलन? बदमासहरू ।’
प्रधानमन्त्री ओलीले पनि नेपाली संस्कार सहिष्णु भएकाले केही मान्छेले बिथोल्न खोज्दैमा नबिथोलिने बताए । ”नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुँदैन” उनले भने ।
उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए । प्रधानमन्त्री ओली केही संयमित देखिए पनि कांग्रेस सभापति देउवाले भने कार्यक्रम विथोल्न हो-हल्ला गरिएको भन्दै युवाहरूप्रति असन्तुष्टि जनाएका थिए ।