नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाएको चर्चित लोक रक समुह नेपथ्यलाई न्यूयोर्कमा भव्य स्वागत गरिएको छ ।
तीन हजार दर्शक अटाउने क्षमता भएको म्यानह्याटनस्थित टर्मिनल फाइभमा यही अगस्ट ३० मा हुने नेपथ्य ऐतिहासिक साँझको लागि न्यूयोर्क आईपुगेको नेपथ्य समूहलाई आयोजक टोली तथा द गुरुङ (तमु) सोसाइटीका पदाधिकारीहरुले भव्य स्वागत गरेको हो ।
स्वागतका लागि आयोजक सदस्यहरु याक प्रोडक्सनका छोमो डसेल, डिजे रितका ठिले थकाली र इसेन्स स्माइल्सका डा. सुलोचना गुरुङ तथा सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङ, संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ र पूर्व अध्यक्ष पदम गुरुङ न्यूयोर्क नौमती बाजा समुहका पञ्चेबाजा टोलीसहित स्वागत गर्नका लागि लागोर्डिया एयरपोर्ट पुगेका थिए ।
गुरुङ भेषभुषामा स्वागतका लागि पुगेका सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङ, संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ र पूर्व अध्यक्ष पदम गुरुङले नेपथ्यका गायक अमृत गुरुङसँग गुरुङ भाषामा नै संवाद गरेका थिए । नेपथ्य समूह तथा गायक अमृत गुरुङको सम्मानका लागि आयोजक सदस्यहरु तथा अन्य व्यवसायीहरु आआफनो मौलिक साँस्कृतिक भेषभूषामा एयरपोर्ट पुगेको थिए ।
‘परिवारका सबै सदस्यले मनोरञ्जन लिन सकुन् भनेर १६ वर्ष मुनिकालाई फ्री इन्ट्रीको व्यवस्था गरेका छौँ,’ इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङले भनिन्, ‘तपाईहरूले आफूसँग १६ वर्ष मुनिका परिवारका सदस्य लिएर आउन सक्नुहुन्छ र परिवारसँगै मनोरञ्जन गर्नसक्नु हुनेछ ।’

याक प्रोडक्शनकी छोमो डसेलले नेपथ्य जस्तो ‘लिजेन्डरी ब्याण्ड’ लाई टर्मिनल फाइभ जस्तो ठुलो ‘भेन्यू’ मा प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताइन् । नेपथ्यलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा आफुलाई एकदमै खुशी र गर्व लागेका बताउँदै कार्यक्रममा उपस्थित भई नेपाली संगीतलाई माया गरिदनु अनुरोध गरिन् ।
टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्युआर कोड स्क्यान वा गुगल सर्च गर्नु पर्नेछ । साथै, टर्मिनल फाइभको वेबसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिङ्क सजिलै भेटिन्छ ।
म्युजिकल टुरमा अमेरिकामा रहेको नेपथ्य समूहले ४ वटा शहरमा आफ्नो प्रस्तुती दिइसकेको छ ।
टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएको छ । कार्यक्रमस्थलमा नेपाली खानाको स्टल समेत हुनेछ । नेपथ्यले लोक संगीतलाई रक शैलीमा गाएर नेपाली संगितलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । यो ब्याण्ड बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँगाउँमा पुगेको थियो ।
कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रेमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेको छ । नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने छ ।











