३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मुकाम रणमैदानले जित्यो मदन पुरस्कार



मुकाम रणमैदानले जित्यो मदन पुरस्कार

यो वर्षको प्रतिष्ठित मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।

जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

जगदम्बाश्री पुरस्कार पाउने प्रा.डा. यादव भने भाषा विज्ञान विषयका प्राध्यापक हुन् । उनी त्रिविको भाषा विज्ञान विभागको पूर्वप्रमुख हुन् । पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : १५ बजे