बिगत ८ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको सरल नेपाली भाषा तथा संस्कृति केन्द्रले सेप्टेम्बर ०८, २०२४ आइतबारका दिन संस्थाको आठौँ वार्षिक उत्सव एवम् वार्षिक पटलक वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
हरेक वर्ष कक्षामा सहभागी हुने विद्यार्थीहरु तथा परिवारसहित मनाउँदै आएको वार्षिक कार्यक्रम यसवर्ष पनि न्यूयोर्कस्थित फरेष्ट पार्कमा सम्पन्न गरेको हो । दुई शिक्षिका (सरस्वती राई र पदमा लिंखा मगर) र ८ जना विद्यार्थीहरूबाट एउटा स्टुडियोमा शुरु भएको यस भाषा पाठशालामा हाल प्राविधिक, शिक्षक, बोर्ड, स्वयंसेवक गरी करिव २५ जनाको समुह रहेको छ ।
अमेरिका, युरोप, फ्रान्सलगायतका देशबाट १८० को हाराहारीमा विद्यार्थीहरू अनलाइनमा अध्ययन गर्छन् । नेपालवाहेक कुनै पनि राष्ट्रबाट विद्यार्थीहरूले नि:शुल्क अध्ययन गर्ने व्यवस्था छ । शिक्षकको हकमा भने नेपालबाट पनि लिने गरिएको छ । विद्यार्थी शिक्षक दुवैमा प्रतिवद्धताको भने अवश्यक हुन्छ ।
शिक्षकको हकमा कुनै आकस्मिक अवस्थाबाहेक कम्तिमा एक वर्ष र ८० प्रतिशत हाजिर हुनै पर्ने नियम छ भने विद्यार्थीहरूको हकमा कुनै खबर नगरी तीन पटकसम्म अनुपस्थित रहेमा स्वत: कक्षाबाट हटाउने नियम छ । जसले गर्दा पढाइ छुट्ने र नियमित विद्यार्थीलाई पढाइमा वाधा पुर्याउने काम हुँदैन । प्राविधिक समस्याले कुनै बाधा नहोस् भनेर एउटा लिड र एउटा सहायक (संस्थाकै पूर्व विद्यार्थी) गरी हरेक कक्षामा दुई जना शिक्षकहरू रहन्छन् ।
सम्पूर्ण शिक्षकहरू स्वयंसेवक भएकाले नि:शुल्क पठनपाठन हुने यो संस्थामा इच्छुक शुभचिन्तक/अभिभावकहरूले जुनसुकै ठाउँमा स्वेच्छाले सहयोग भने गर्न सक्छन् । कार्यक्रममा भाषा स्कुलबाट यही महिना भएको वार्षिक परिक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र तथा गुडी व्याग वितरण गरिएको थियो ।
यसैगरी हरेक कक्षामा सबैभन्दा नियमित उपस्थित हुने र गृहकार्य गर्ने विद्यार्थीहरुलाई उनीहरूले प्राप्त गरेको स्टारको आधारमा पुरस्कार समेत बितरण गरिएको थियो । केन्द्रमा केही वर्ष यताबाट अहिलेसम्म स्वयंसेवक भइ सहयोग पुर्याएका पूर्व विद्यार्थी निनिमा राई, पूजा श्रेष्ठ, समुन्द्र दाहाल एवं शुरुमा कक्षा सञ्चालन गर्न स्थान उपलब्ध गराउने कराँते गुरुहरू (सेनसिइ शान्ता थोकर र पर्खी राई) लाई स-धन्यवाद मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा अभिभावकहरू, वाणिज्यदूत बिष्णु कुमारी अधिकारी, सह-वाणिज्यदुत संगीता न्यौपानेलगायत, भाषा/साहित्यको अभिभावक संस्था अनेसास बोर्ड अफ ट्रष्टी, न्यूयोर्क च्याप्टरलगायत न्यूयोर्कमा रहेका विभिन्न संस्थाका विशेष व्यक्तित्वहरूको पारिवारिक उपस्थिति थियो ।
नितान्त स्कुल परिवार र साथीभाइको जमघट कार्यक्रम संस्थागत भन्दा पनि पारिवारिक सहभागिता रहेको आयोजकको भनाई रहेको छ । २५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रम विहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष यशोदा राईले गरेकी थिइन् भने सदस्य हजुरी शाह कंडेलले गीत गएर तथा विद्यार्थीहरू गरिमा राना, आभा भण्डारी, प्राची बिसुन्के लिम्बू र एन्जेला शाहले नृत्य प्रस्तुत गरेर स्रोता/दर्शकहरूलाई मनोरन्जन दिएका थिए । आठौँ वार्षिक उत्सवको केक काटेर कार्यक्रमको समापन गरिएको थियो ।




















