बैदेशिक रोजगारीबाट फर्केका सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन् भने गोली लागेर बाबु घाइते भएका छन् । हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धिरेन्द्र यादवले करिब एक महिना अघि मात्र कुवेतबाट फर्केका थिए ।
उनले गोली हानी बुधबार राती पौने २ बजे आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको हत्या गरेका हुन् भने बुवा ५४ वर्षीय रामदिनेश यादवलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको थियो भने हातको कुइँनामा गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्षीय यादव भने खतार मुक्त रहेको बताइएको छ । बुहारीलाई छोराले गोली हानेपछि छुटाउन जाँदा बाबुलाई पनि गोली लागेको बताइएको छ ।
धिरेन्द्र एक महिनाअघि मात्रै वैदेशिक रोजगारी (कुवेत) बाट फर्किएको र आएदेखि नै श्रीमतीसँग झगडा गर्ने गरेको पाइएको छ । हत्याको कारण घरायसी झगडा रहेको बताए पनि के कारणले झगडा हुने गरेको भन्ने कुरा थाहा नभइसकेको प्रहरीको भनाई रहेको छ ।
प्रहरीका अनुसार कुवेतबाट फर्किएदेखि नै पत्नीसँग झगडा गर्दै आएका धिरेन्द्र घरमा २/३ दिन बसेर भारततिर लागेका थिए । त्यसयता घर नफर्किएका उनी बुधबार राती अर्का एक जना साथीसमेत मोटरसाइकलमा आएर गोली हानेको हो । गोली हानेर दुवै जना पुन भारततर्फ नै भागेको बताइएको छ ।