२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

न्यूयोर्कका मेयर एडम्सलाई घूसखोरी र अवैध चुनावी चन्दा लिएको अभियोग, राजीनामाका मागहरू बढ्दै



न्यूयोर्क शहअरका मेयर एरिक एडम्सलाई घूसखोरी, तार जालसाजी र अवैध रुपमा विदेशी चुनावी चन्दा संकलनको आरोपमा पाँच वटा सङ्घीय अभियोग लगाइएको छ । बिहीबार सार्वजनिक गरिएको अभियोगपत्र अनुसार, एडम्सले टर्कीका व्यापारीहरू र सरकारी अधिकारीहरूसँग एक लाख अमेरिकी डलरभन्दा बढीको विलासी यात्रा सुविधा र अवैध चुनावी चन्दा लिएको उल्लेख छ ।

पूर्व प्रहरी अधिकारी ६४ वर्षीय एडम्स, जो अपराध विरुद्ध कडा कदम चाल्ने वाचा गर्दै मेयर बनेका थिए, उनले आफुले कुनै गैरकानूनी काम नगरेको दावी गरेका छन् । उनले अभियोग अस्वीकार गरेका छन् । साथै आफ्नो राजीनामाका लागि बढ्दो दबाबलाई पनि अस्वीकार गरेका छन् । “म नियमहरूको पालना गर्छु, संघीय कानुनको पालना गर्छु, र कुनै अवैध चुनावी गतिविधिमा संलग्न छैन,” एडम्सले पत्रकार सम्मेलनमा भने ।

अभियोग अनुसार, एडम्सले ब्रुकलिन बरोका अध्यक्ष रहेका बेलादेखि नै घूसखोरी र भ्रष्टाचार सुरु गरेको उल्लेख छ । अभियोगपत्रमा भनिएको छ कि उनले विलासी उपहारहरू र विदेशी चन्दा लुकाउन “स्ट्रो डोनर” (नक्कली चन्दा दिने व्यक्ति) प्रयोग गरेका थिए, जसले चुनावी कोष सम्बन्धी कानुनी व्यवस्थाको उलंघन गरेको छ । उनको २०२१ को चुनाव र पुनःनिर्वाचन अभियानका लागि पनि यस्ता अवैध चन्दा लिएको आरोप छ ।

अभियोगका उल्लेख एउटा उदाहरण अनुसार एडम्सका कर्मचारीहरूले टर्कीको यात्रामा विलासी होटलको प्रयोग गरेका थिए । त्यसका लागि एक एयरलाइन्स म्यानेजरले एडम्सको लागि फवर सिजन होटलको सुझाव दिएपछि, कर्मचारीले भने, “यो धेरै महँगो हुन्छ” भनेका थिए । तर ती म्यानेजरले “उहाँले तिर्नु पर्दैन” भनेको उल्लेख गरिएको छ ।

एडम्स शुक्रबार सङ्घीय अदालतमा उपस्थित हुनेछन्, जहाँ उनलाई औपचारिक रूपमा अभियोग लगाइनेछ । दोषी ठहरिएमा, एडम्सले ४५ वर्षसम्मको जेल सजाय भोग्न सक्नेछन् ।

न्यूयोर्कका गभर्नर क्याथी होचुलले पनि अभियोगको समीक्षा गरिरहेको बताएकी छिन् । गभर्नरसँग मेयरलाई पदबाट हटाउने अधिकार छ । एडम्सलाई “इन्याबिलिटी कमिटी” मार्फत हटाउन पनि प्रस्ताव गरिएको छ ।

गत वर्ष एफबीआईले एडम्सको प्रमुख कोष सङ्कलकको घरमा छापा मारेर अवैध चन्दाको अनुसन्धान थालेपछि एडम्सको प्रशासनमा सङ्घीय जाँचबुझ भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : १३ बजे