२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २१७ जनाको मृत्यु, २८ बेपत्ता



अविरल वर्षाका कारण केही दिनअघपि गएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १ सय ४३ जना घाइते छन् ।
बिहीबार साँझदेखि परेको अविरल बर्षाका कारण शनिबार र आइतबार मुलुभर ठूलो धनजनको क्षति भएको हो । खोज र उद्दार कार्य जारी रहेकोले मृतकको संख्या अझै यकिन भइसकेको छैन ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिएका छन् । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको सरकारले जनाएको छ ।

१४ राजमार्ग अवरूद्ध, बनाउन दुई अर्ब लाग्ने

बाढीपहिरोका कारण अझै १४ राजमार्ग अवरूद्ध छन् । विभिन्न राजमार्गको पुल बगाएको तथा सडकको खण्ड नै क्षतिग्रस्त भएकोले पनि खुलाउन नसकेको हो ।

सडक विभागले गरेको प्रारम्भिक अनुमान अनुसार क्षति पुगेका सडक तथा पुल पुनःनिर्माणका लागि दुई अर्ब ५२ करोड रूपैयाँ लाग्ने देखिएको छ । जसमा क्षति पुगेको पाँच वटा पुल र विभिन्न सडकमा पुननिर्माण तथा मर्मत पर्दछ ।

विधागले दिएको जानकारी अनुसार विभिन्न १४ वटा राजमार्गका ४२ स्थानमा यातायात अवरूद्ध छ । अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग र कालीगण्डकी करिडोर लगायत सडक अवरूद्ध छन् ।

त्युतै बाढी तथा पहिरोका कारण क्षति पुगेका सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सिङटार, अरनिको राजमार्ग लिपिङ पुल, र इलाम माइपोखरी सडकको रातेखोला पुल पुननिर्माण गर्नु पर्ने छ । त्यस्तै, लार्चा र हेवा खोला गरी दुइटा बेलिब्रिजलाई पनि बाढीले बगाएको छ ।

२१ हजार पाँच सय मिटर सडकमा क्षति पुगेको र यो मर्मतका लागि एक अर्ब ५० करोड लागत लाग्ने विभागले जनाएको छ । दुइटा २०० मिटर बेलिब्रिजमा क्षति भएको छ । यो निर्माणका लागि २० करोड लागत लाग्ने उल्लेख छ ।

झ्याप्लेखोलामा पुरिएका मध्ये २२ शवको सनाखत

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलामा बससँगै पहिरोमा पुरिएर शव उत्खनन् गरिएका ३५ मध्ये हालसम्म २२ जनाको सनाखत भएको छ । साना ठूला चारवटा सवारी साधनमा पुरिएका मध्ये ३५ को शव फेला परेको थियो ।

प्रहरीका अनुसार २२ मध्ये १९ जनाको मंगलबार र १३ जनाको शव यसअघि सनाखत भएका हुन् । मंगलबार पर्वतको कुश्मा नगरपालिका–२ बस्ने ३१ वर्षकी पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट–७ बस्ने वर्ष २८ को नवराज पन्त, रुकुम पश्चिमको मुसिकोट–१५ बस्ने वर्ष ३९ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका–४ बस्ने वर्ष ४० का नवराज तिवारी, बझाङ जयपृथ्वी-१ बस्ने वर्ष २३ का नवीन सिंह र चितवनको भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष २१ की अनिता थापा मगरको सनाखत भएको हो।

यस्तै मकवानपुरको मनहरि गाउँपालिका–९ बस्ने वर्ष ३३ की सन्तु विक, काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ बस्ने वर्ष ४८ का आनन्द राजवंशी, चितवन खैरहनी नगरपालिका–३ बस्ने वर्ष १९ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका–३ बस्ने वर्ष २६ का जनक कुँवर, चितवन भरतपुर महानगरपालिका–९ बस्ने वर्ष ५३ का मोहन दास आचार्यको सनाखत भएको छ।

सनाखत हुने थप मृतकमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१ बस्ने वर्ष ५६ का नरेन्द्र खत्री, गोरखा भीमसेन थापा गाउँपालिका–४ बस्ने वर्ष ४७ का मदन परियार दमाईं, सोही स्थानका वर्ष १५ का विनायक भट्टराई, सोही गाउँपालिकाको धोर्चे–७ बस्ने वर्ष २७ मन सुके दमाईं छन् भने बागलुङ बडिगाँड गाउँपालिका–२ बस्ने वर्ष ५२ का इन्द्रजित राना, सोही स्थानकी ४० वर्षीया भीमकुमारी राना, जुम्ला सिँजा गाउँपालिका–६ बस्ने वर्ष ३९ का हरिबहादुर बुढा र धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने वर्ष २६ की लीलामाया तामाङ छन्।

ललितपुरमा मात्र ४० को मृत्यु

बिहीबार रातिदेखि शनिबारसाँझसम्म परेको अविरल वर्षाले बाढीपहिरो र डुबानमा परेर ललितपुरमा ४० जनाले ज्यान गुमाएका छन् । बाढी पहिरोमा परेर हराएकाहरूमध्ये मंगलबार बिहान ८ बजे ६ जनाको शव फेलापरेसँगै मृत्यु हुनेको संख्या ४० पुगेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मंगलबार बिहान ललितपुर माहाँकाल गाउँपालिका वडा नम्बर २ का ९ वर्षीय आयुष स्याङ्तान, सोही वडाको एकैपरिवारका ४० वर्षीय राममाया स्याङ्तान, १४ वर्षीय अजय स्याङ्तान, ११ वर्षीय सुवास स्याङ्तान र ९ वर्षीया सलिना स्याङ्तान शव फेला परेको हो ।

त्यस्तै माहाङकाल गाउँपालिका वडा नम्बर ३ का ईश्रर तिमल्सिनाको शव पनि मंगलबार बिहान भेटिएको छ । यसअघि ललितपुरमा बाढीपहिरोमा परेर ३४ जनाको मृत्यु भएको थियो ।

राहत कोषमा एमाले र कांग्रेसले ५०/५० लाख रुपैयाँ दिने

नेकपा (एमाले) ले सरकारी राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय मंगलबार बसेरा होटलमा बसेको सचिवालय बैठकले गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको बताए । सचिवालय बैठकपछि अहिले संसदीय दल बैठक पनि बसिरहेको छ ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न पनि आह्वान गरेका छन् ।

सरकारी कोषमा नेपाली कांग्रेसले पनि ५० लाख रुपैयाँ दिने गत आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : २६ बजे