नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ । सो सहमतिसम्बन्धी समझदारीपत्रमा दुई देशबीच अधिकारीहरुले0 सोमबार हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्तराज्य अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले वासिङ्टन डिसीमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री बासबीच नेपाल अमेरिका द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको बताइएको छ ।
परराष्ट्रमन्त्री राणाले यो सम्झौता नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यस सम्झौतामार्फत सहयोग पुग्ने बताइन् ।
साथै यस सम्झौताले दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा आपसी सहयोग र समन्वयका साथ अघि बढ्न थप मार्गप्रशस्त गर्ने पनि मन्त्री राणाले बताइन् ।