२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

बाहिरिन थाल्यो मनसुन



पछिल्लो समय पयबिध्वंस मच्चाएर मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको आईतबारको बुलेटिन अनुसार गरी सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको हो । साथै महाशाखाका अनुसार लुम्बिनी प्रदेशको थोरै भागबाट पनि मनसुन बाहिरिएको छ ।

मनसुन बाहिरिने क्रम अन्य प्रदेशतिर पनि क्रमशः फैलिँदै गएको छ ।
पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।

मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ ।
भारतको मौसम विज्ञान विभागले सेप्टेम्बर २३ तारिक (असोज ७ गते) देखि नै भारतका विभिन्न स्थानबाट मनसुन बहिर्गमन सुरु भइसकेको जनाएको थियो । उसले जारी गरेको अद्यावधिक नक्सामा अरब सागरको केही भाग, मध्य प्रदेशका केही भाग, उत्तर प्रदेशका केही भाग, उत्तराखण्ड र नेपालको सुदूरपश्चिमका केही भागबाट मनसुन बाहिरिएको देखाइएको थियो ।

भारतले घोषणा गरेको झण्डै दुई हप्तापछि मात्रै नेपालले आफ्नो सुदूरपश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो ।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यस वर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको छ । जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ५७ बजे