२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

अमेरिकाविरुद्ध तेस्रो खेल पनि नेपालले जित्यो



तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले सोमबार अमेरिकाबिरुद्ध तेस्रो खेलमा पनि जीत हात पारेको छ । यसअघि दुई खेल पनि नेपालले जितेको थियो ।

डलासमा भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो । सुरुवाती दुई खेल नै नेपालले जितेपछि सिरिज हात पार्नका लागि सोमबार खेल भने औपचारिक मात्र थियो ।

अमेरिकाले नेपालसामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो र त्यसलाई नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ४० र कुशल मल्लले ४४ रन बनाएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पाँच विकेट गुमाएर १ सय ५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो । स्कोरबोर्डमा सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  २ : ४२ बजे