पूर्वकमलरी तथा सामाजिक अभियन्ता उर्मिला चौधरीलाई अमेरिकी विदेश मन्त्रालयले “ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन”ले सम्मानित गरेको छ । कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता उर्मिला आफैले ११ वर्ष ‘कमलरी-जीवन’ बिताएकी थिइन् । २०६३ माघ १ मा मुक्त भएसँगै उनी त्यही अभियानमा जोडिएकी थिइन् ।
चौधरीले नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।
उर्मिला चौधरी उक्त पुरस्कारबाट सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ ।’
अमेरिकी विदेश मन्त्रालयले चौधरीसँगै घानाका मानवअधिकारवादी अभियन्ता दिन्ती सुले तायिरु, नर्थ म्यासेडोनियाका अभियन्ता एल्भिस शाक्जिरी, मेक्सिकोको महिलावादी अभियन्ता तान्या दुआर्ते, बोलिभियाकी आदिवासी राजनीतिज्ञ तथा मानवअधिकारवादी अभियन्ता तोमासा यारहुई जाकोमे र नेदरल्यान्ड्सका अभियन्ता एवं पूर्वसांसद जोन लिर्डामलाई उक्त पुरस्कार प्रदान गरेको हो ।