११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मतदातालाई दश लाख डलर दिने एलदोन मस्कको योजना विवादमा, सरकारले दियो चेतावनी



अमेरिकी न्याय विभागले रिपब्लिकन पार्टीका उम्मेदबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग हुने गरी अर्वपति एलोन मस्कले मतदातालाई दश लाख डलर दिने घोषणामा प्रश्न उठाएको छ ।

मस्कको राजनीतिक एक्शन कमिटीलाई पत्र पठाउँदै उनले सुरु गरेको दश लाख डलर दिने योजना गैरकानूनी हुन सक्ने चेतावनी विभाषले दिएको हो । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार यो योजना चिट्ठा शैलीमा अमेरिकाको केही स्विङ स्टेटहरुमा दर्ता भएका भोटरहरूलाई छानेर आफ्नो प्रतिबद्धतामा समर्थन जनाएबापत हरेक दिन दिने योजना हो ।

विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्क रिपब्लिकन ट्रम्पको राष्ट्रपति अभियानमा सक्रिय रूपमा सहभागी छन्, र यो कार्यक्रम पनि त्यही अभियानको हिस्सा हो । उनले अमेरिकी भोटरहरूलाई एउटा पिटिशनमा हस्ताक्षर गर्न प्रोत्साहित गर्दै पुरस्कार वितरण थालेका हुन् ।

मस्कको संगठन ‘अमेरिका पीएसी’ लाई न्याय विभागको पत्र कहिले पठाइएको हो भन्ने स्पष्ट पारिएको छैन । तर, अमेरिकी समाचारहरु अनुसार यो पत्र न्याय विभागको सार्वजनिक इमानदारी विभागबाट पठाइएको हो, जुन डेमोक्र्याटहरूको विरोधपछि पठाइएको बताइएको छ ।

अमेरिकी संघीय कानूनअनुसार, भोट गर्न दर्ता गराउनका लागि पैसा दिनु गैरकानूनी हो । तर, मस्कको यो योजना कानूनी रूपमा गलत हो कि होइन भन्ने अझै स्पष्ट छैन । मस्कले भनेको छन् कि यो योजना भोटरहरूलाई संविधानको पहिलो र दोस्रो संशोधनको समर्थनमा हस्ताक्षर गरेवापत दिने हो ।

यस योजनामा भाग लिन चाहनेले पिटिशनमा हस्ताक्षर गर्नुपर्ने र उनीहरूले कुनै पनि पार्टीको सदस्य हुन नपर्ने बताइएको छ । साथै, यो योजना सात निर्णायक राज्यहरूमा मात्र खुला गरिएको छ, जस्तै पेन्सिल्भेनिया, जर्जिया, नेवाडा, एरिजोना, मिशिगन, विस्कन्सिन, र नर्थ क्यारोलिना ।

केही कानूनी विशेषज्ञहरूले मस्कको यो योजना संघीय कानूनको उल्लंघन हुने सम्भावना रहेको बताएका छन् । अमेरिकी न्याय विभागले यस मामिलामा अनुसन्धान गरिरहेको छ, तर अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ४ : ०१ बजे