२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

रास्वपाको आन्दोलन पोखराबाट काठमाडौं सर्यो



सभापति रवि लामिछाने पक्राउको बिरोधमा पोखरा केन्द्रित आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन काठमाडौं सरेको छ । आफ्ना सभापित लामिछानेको पक्राउ पछि सम्पूर्ण शक्ति पोखरामा उतारेको रास्वपाले लामै समय नछुट्ने देखिएपछि काठमाडौं सरेको हो ।

कास्की जिल्ला अदालतले बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सातदिन हिरासतमा हुँदा तिहार विदा हुने हुँदा उनी तिहारमा पनि हिरासतमै रहने छन् ।

साथै कास्की जिल्ला अदालतले सम्पत्ति सुद्धिकरण पनि अनुसन्धान गर्न अनुमति दिएको छ भने रुपन्देही अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

यसरी लामै समय लामिछाने हिरासतमा रहने देखिएपछि पोखरा केन्द्रित आन्दोलनलाई काठमाडौंमा सारेको हो ।

शुक्रबार रास्वपाका कार्यकर्ताले माइतीघर मण्डलामा प्लेकार्डसहित भेला भएर रवि लामिछाने पक्राउको विरोध गरेमा प्रदर्शन गरेका थिए । तर पोखरामा जस्तो देशै भरीका कार्यकर्ता भने काठमाडौंमा देखिएनन् ।

लामिछाने पक्राउलाई उनीहरूले ‘दुई तिहाइको दम्भ’ भन्दै सरकारविरुद्ध प्रदर्शन गरिरहेका थिए भने ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर!, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन’ जस्ता प्लेकार्ड बोकेका नारा लगाएका थिए ।

रास्वपा सभापति लामिछाने सहकारीको पैसा गोर्खा मिडियामा लगेर अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : ३६ बजे