२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

विस्कॉन्सिनका रिपब्लिकन नेताले ह्यारिसलाई समर्थन गरे



विस्कॉन्सिन राज्य सिनेटका सबैभन्दा लामो समयदेखि सेवारत रिपब्लिकन सदस्य, रोबर्ट काउल्सले उपराष्ट्रपति कमला ह्यारिसलाई आगामी राष्ट्रपतिको चुनावमा मतदान गर्ने घोषणा गरेका छन् ।

१९८७ देखि सिनेटमा रहेका काउल्सले आफ्नो यो निर्णयको घोषणा म्याडिसनमा रहेको रेडियो स्टेशन सिभिक मिडियासँको अन्तरवार्तामा गरेका हुन् । उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लोकतन्त्रमा खतरा पुर्याएको आरोप लगाएका छन् ।

काउल्सले ट्रम्पलाई “सत्तावादी र फासिस्टको झुकाव भएको व्यक्ति” भनेका छन् । ट्रम्पको हिटलरप्रति आकर्षण रहेको बारे हालैका खबरहरूले उनलाई यस्तो निर्णयमा पुग्न अन्तिम प्रेरणा दिएको बताएका छन् ।

“मैले पछिल्ला दिनमा यो विषयलाई गम्भीरतापूर्वक लिएको छु, दोस्रो विश्वयुद्धको समयको फासिस्ट शासन र यस विरुद्ध मेरो परिवारका सदस्यहरूले लडेको सम्झँदा ट्रम्पले हिटलरको समर्थन गर्ने कुरा मलाई स्वीकार्य छैन,” काउल्सले भने । उनले यसका साथै पुटिनप्रति ट्रम्पको समर्थनप्रति पनि चिन्ता व्यक्त गरे ।

विस्कॉन्सिन स्वीङ स्टेटको रुपमा गनिने हुँदा नेभेम्बर ५ को राष्ट्रपतीय चुनावका लागि काउल्सको यो निर्णयको चर्चा भइरहेको छ । २०१६ मा ट्रम्पले विस्कॉन्सिनमा जित हासिल गरेका थिए, तर २०२० मा राष्ट्रपति जो बाइडेनले पुनः राज्यलाई डेमोक्र्याटिक पार्टीतर्फ फर्काएका थिए । काउल्सले भने, “कमला ह्यारिसको केही उदारवादी नीतिहरूसँग मेरो असहमति हुन सक्छ, तर यो संविधानको रक्षा गर्ने विषयभन्दा ठूलो छैन ।”

काउल्सको यो निर्णय अन्य रिपब्लिकन नेताहरूको लागि पनि प्रेरणाको श्रोत बन्न सक्ने अनुमान गरिएको छ । उनको समर्थनले अमेरिकी राजनीतिमा विभाजनमा नयाँ दृष्टिकोण ल्याउन सक्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : ४६ बजे