१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

द गुरुङ (तमु) सोसाइटी इंक युएसएको तिहार तथा शुभदिपावली देउसी भैलो कार्यक्रम सम्पन्न 



न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक युएसएले तिहार तथा शुभदिपावली २०२४, देउसी भैलो कार्यक्रम गरी मनाएको छ। सोसाइटीले नेपालीहरुको दोश्रो महान पर्व तिहार हरेक बर्ष आयोजना गर्दै आएको छ।  न्यूयोर्कको क्वीन्समा अवस्थित धर्म हाउस उडसाइडमा हिजो शनिबार भएको कार्यक्रममा पञ्च कन्या नानीहरुले द्धिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा भैलीनि आइन् बोलको गीतमा बाल कलाकारहरु ओजाश्री गुरुङ, आइना गुरुङ र साइना लामाले आकर्षक नेत्य प्रस्तुत गरेका थिए। त्यस्तै स्थानिय कलाकारहरु श्रुती गुरुङ, सुष्मा गुरुङ र सोनिया गुरुङले गोरखे खुकुरी तथा रुकुमैकोट बोलको मेड्ली गीतमा नृत्य प्रस्तुत गरेका थिए। बुट्टे रुमाल बोलको गीतमा बाल कलाकारहरु ओजाश्री गुरुङ, साइना लामा, उगेन लामा, वाङ्चुक लामाले नृत्य प्रस्तुत गरेका थिए। यो प्रस्तुति घ्याल्सुम्दो सेवा संस्थाले गुरुङ सोसाइटीलाई उपहार रुवरुप प्रदान गरेको थियो। स्थानिय कलाकारहरु अन्जिन तामाङ, शोभा गुरुङ, तीर्थ गुरुङ, रुथमान गुरुङ र रामकृष्ण गुरुङले ग्रामिण भेगमा गुरुङहरुले तिहारको अवसरमा नाच्ने मौलिक नचरी नाच प्रस्तुत गरेका थिए। बाल कलाकार आइना गुरुङले दार्जिलिङको रेल गीतमा एकल नृत्य प्रस्तुत गरेका थिए। तीर्थ गुरुङ, रुथमान गुरुङ र रामकृष्ण गुरुङले लोक नृत्य प्रस्तुत गरेका थिए। तमु प्ये ल्हु संघले गुरुङ सोसाइटीलाई उपहार स्वरुप ३ वटा नृत्य प्रदान गरेको थियो।    कार्यक्रममा गुरुङ तमु स्टुडेन्ट क्लवका संयोजक मेलिशा गुरुङले तिहार र तिहारको महत्व बारेमा जानकारी दिएका थिए। 

कार्यक्रममा उपस्थित सबै सहभागीले नेपालको गाउँघरमा जस्तै मौलिक रुपमा मादल, खैचडी, झ्यालीको तालमा भट्याएर देउसी भैली खेलेका थिए । उपस्थित सहभागीहरुले भैली कार्यकम्रको दृश्य कुनै शहरको हलमा नभएर कुनै गाउँघरको खुल्ला आकाशमा कसैको घर आँगनीमा भैली खेलेको अनुभुति भएको प्रतिकृया दिएका थिए । सबै सहभागीहरुले भैलीलाई गक्ष अनुसारको रकम दान गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अलिशा देबी गुरुङले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत तथा तिहार तथा शुभदिपावली २०२४ को हाद्र्धिक शुभकामना व्यक्त गरे । संस्थाका महासचिव मच्छेदेवी गुरुङले देउसी भैली कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने संस्थापक अध्यक्ष, सल्लाहकारहरु, सम्पूर्ण आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरु, द गुरुङ (तमु) सोसाइटी आमा चेलीबेटी आमा दिदी बहिनीहरु, साधारण सदस्यहरु, स्वयंसेवक युवा भाइ बहिनीहरु सबै प्रति आभार व्यक्त गरे । नेपाली संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्दै जानको लागि र आफ्नो राष्ट्र र माटोको सम्मानको लागि पनि परदेशको भूमीमा यस्तो कार्यक्रम आयोजना गरेको सोसाइटीले जनाएको छ । 

कार्यसमिति सदस्यहरु विनोद (बिन्दु) गुरुङ तथा भरत (बुद्धि) गुरुङले कार्यक्रमको संयोजन गरेका हुन्। कार्यक्रममा उपस्थित सबै दाजुभाइहरुलाई टोपी लगाएर तथा दिदी बहिनीहरुलाई सयपत्री फूलको गुच्छा दिएर स्वागत गरिएको थियो। कार्यक्रममा तमु आमा चेलिबेटीहरुले घरमा नै बनाएका नेपाली मौलिक परिकारहरु सेल रोटी, आलुदम, भट्मासको अचार, मिक्स नेपाली अचार, चिकन चिल्ली तथा स्वादिष्ट नेपाली खाना सर्भ गरिएको थियो।  द गुरुङ (तमु) चेलीबेटीहरुले विभिन्न परिकारहरु अचार, सेलरोटी लगायतका परिकार प्रदान गरी सहयोग गरेका थिए । त्यस्तै, सोसाइटीका कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु तथा आजीवन सदस्यहरुले स्वत स्फुर्त रुपमा ड्रिंक्स सहयोग गरेका थिए। 

कार्यक्रममा झण्डै ११ हजार ९ सय डलर रकम संकलन भएको थियो। परम्परागत शैलीमा देउसी भैली खेलेपछि कार्यक्रममा उपस्थित सबै जना नेपाली लोक दोहोरी, झयाउरे तथा चर्चित नेपाली गीतमा कम्मर मर्काइ मर्काइ नाचेर मनोरञ्जन लिएका थिए । कार्यक्रममा ४ बर्षका बालबालिकादेखि ७५ बर्ष उमेरसम्मका सहभागी सबैलाई निशुल्क रुपमा प्रवेश, खाना तथा ड्रिंक्सको व्यवस्था गरिएको थियो।

हरेक व्यक्तिको साथ सहयोगले नै समाज अझ बलियो हुने हुनाले आउने कार्यक्रमहरुलाई अझ प्रभावकारी र रचनात्मक बनाउँदै लैजानको लागि सोसाइटीका सम्पूर्ण सदस्यहरुलाई  आउने नोभेम्बर ९ तारिखमा हुन लागेको ओपन फोरममा सहभागी हुन सोसाइटीले आव्हान गरेका छ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १२ : ०६ बजे