१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

रबि लामिछानेलाई भैरहवा पुर्‍याइयो, सहकारी पीडितद्वारा प्रदर्शन



सहकारी ठगी, संगठित अपराध र सम्पति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवा पुर्‍याइएको छ । उनलाई गोर्खा मिडियमा प्रबन्ध निर्देशक भएका बेला बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा कम्पनीमा लागि हिनामिना गरेको विषयमा वयान लिनका लागि भैरहवा पुर्‍याइएको हो ।

उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका थिए । भैरहवा विमानस्थलबाट उनलाई वयानका लागि सिधै सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि पोखराको मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । पोखराबाट १२ बजे उडेको जहाज भैरहवामा १२ बजेर २८ मिनेट जाँदा अवतरण गरेको थियो ।

लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालते प्रहरीलाई अनुमति दिएको छ ।

सहकारीपीडितद्वारा भैरहवामा प्रदर्शन

सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याउने भएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् ।

सदरमुकाम भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालय नजिकै पीडितले प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग गरेका हुन् ।

सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले ‘सहकारीपीडितलाई न्याय दे’, ‘सहकारी ठग्न पाइँदैन’, ‘सहकारी ठगीको निष्पक्ष छानबीन गर’ लगायत नारा लगाएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : १७ बजे