१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

पूर्वसभामुख तथा नागरिक अगुवा दमननाथ ढुंगानाको निधन



पूर्वसभामुख तथा नागरिक अगुवा दमननाथ ढुंगानाको आइतबार निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो ।

अस्पतालले ८३ वर्षीय ढुंगानाको अस्पताल ल्याइपुर्‍याउँदा नै निधन भइसकेको उल्लेख गरेको छ । ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तत्व हुन् ।

गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गरेका ढुंगाना वरिष्ठ अधिवक्ता समेत थिए ।

२०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा ढुंगाना निर्वाचित ढुंगाना प्रजातन्त्र पुनस्थापना पछि निर्वाचित संसदको पहिलो सभामुख हुन् । ०४८ देखि ०५१ सम्म उनी सभामुख थिए । ०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन् । पछिल्लोपटक ०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट पनि सफल हुन नसकेपछि उनले सक्रिय राजनीति छाडेका थिए ।

माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुंगानाले स्वर्गिय पद्मरत्न तुलाधरसँगै धेरैपटक सहजकर्ताको भूमिका खेलेका थिए । २०२८ सालदेखि वकालत पेशामा लागेका उनी ०४६ साल सम्म सक्रिय वकालतमा थिए । बहुदलीय व्यवस्थपछि पार्टी राजनीतिमा सक्रिय भए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : २१ बजे