१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

ह्यारिसले पराजय पछि पनि किन चन्दा संकलन गरिरहेकी छन्?



अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र डेमोक्रेटिक पार्टीले चुनावमा पराजय पछि पनि चन्दा संकलन जारी राखेका छन् । अझ तीव्रता दिएका छन् । ह्यारिसको अभियानले १ अर्ब डलरभन्दा बढी रकम संकलन गरे पनि उनीहरू अझै पनि “ह्यारिस फाइट फन्ड” नाममा चन्दा अभियान चलाई रहेका छन् ।

डेमोक्रेटहरू ह्यारिस समर्थकलाई सहयोगको लागि बारम्बार आग्रह गर्दैछन्, यद्यपि यो चन्दा चुनावी ऋण तिर्न नभई ट्रम्प प्रशासनविरुद्ध राजनीतिक आधार बलियो बनाउन र २०२६ को मध्यावधि चुनावका लागि तयारी गर्न हो भन्ने उनीहरुको भनाई रहेको छ । ह्यारिसको अभियानले चुनावपछिका अभियानहरूमा, रिपब्लिकन राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पको क्याबिनेट छनोट र अन्य राजनीतिक घटनाहरूलाई चन्दा माग्दा प्रमुख मुद्दा बनाएको छ ।

यद्यपी जानकार स्रोतहरुले चुनावी पराजयपछि ह्यारिसको अभियानले वरिष्ठ कर्मचारीहरूको तलब रोकेर मात्र स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराएको जनाएको छ । केही स्रोतले सहयोग उठेको भन्दा ह्यारिसको अभियानले बढी खर्च गरेको दावी गरेको छ भने केहीले अझै चुनावका बेला गरेका खर्चहरूको बिलहरू अझै प्राप्त हुन बाँकी रहेको उल्लेख गरेको छ ।

“ह्यारिस फाइट फन्ड” ले डेमोक्रेटिक राष्ट्रिय समितिसँग मिलेर बिशेष गरेर साना चन्दादातालाई लक्षित गरेर अभियान चलाएको छ भने ठूला चन्दादातालाई व्यक्तिगत रुपमा लक्षित गरेर अपील पठाउने काम गरिरहेको छ ।

एपीका अनुसार डेमोक्रेटहरूले ह्यारिस समर्थकहरूको ईमेल सूचीमा चन्दाका लागि लगातार सन्देश पठाइरहेका छन् । चन्दा संकलनका सन्देशहरूमा रिपब्लिकन नेतृत्वविरुद्ध संघर्ष गर्ने, ट्रम्पका योजनालाई रोक्ने, र अपूर्ण निर्वाचनका मुद्दाहरूलाई सम्बोधन गर्ने कुराहरू प्राथमिकतामा राखिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ०७ बजे