१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

पूर्वसभामुख ढुंगानाको शोकमा सार्वजनिक बिदा, राष्ट्रिय सम्मान दिइने



पूर्वसभामुख तथा नागरिक अगुवा दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक र श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै सोमबार बिदा दिने निर्णय गरेको जनाए ।

त्यस्तै ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने पनि सरकारले निर्णय गरेको छ । त्यसैगरी स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।

उनको पार्थिक शरिरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ५१ बजे