मुलुकको विदेशी विनिमय सञ्चितिले रेकर्ड तोडेको छ । गत असोजसम्म २२ खर्ब ३२ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चित भएको हो, यो हालसम्मकै धेरै हो ।
गत असार महिनाको तुलनामा यो ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा छ । प्रतिवेदनका अनुसार ०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु. १९२ अर्ब ५५ करोड रहेकोमा ०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । ०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दावी छ ।