१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अब अस्पतालहरुले उपचार शुल्क सार्वजनिक रुपमा राख्नु पर्ने



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।

कतिपय नागरिकले शुल्क बारे थाहा नै नहुने गरेको समेत गुनासो गरेपछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्न पहल सुरु गरेका हुन् । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो ।

मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क पनि खुलाउन भनिएको छ । यसैगरी सबै खालका शय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको छ । उनका अनुसार पहिलो चरणमा अनुगमन गरिने र बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ५ : १७ बजे