प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणमा ऋण लिनेसम्बन्धी कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । आशन्न चीन भ्रमणका बारेमा पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले चीनको बीआरआइ परियोजना अन्तर्गत ऋण लिन नहुने सत्ता साझेदारको अडानको कारण आप्ठ्यारोमा छन् । उनले बिआरआइमा ऋण नहुने उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको पनि उल्लेख गरेको सहभागीले बताएका छन् ।
उनले आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्ने उल्लेख गर्दै ऋणको पासोमा पार्न ऋण जलिइँने पनि स्पष्ट पारेका छन् ।
“चीनसँग हाम्रो लामो र मित्रवत सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै उनको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्छौँ ।”
उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए ।