विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि भोलि आइतबार हुने मतदानमा ३ सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
आईतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक ) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशंकर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
त्यस्तै ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ ।
काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।