१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

एड्स रोकथाममा सय प्रतिशत प्रभावकारी औषधि सार्वजनिक



विश्व एड्स दिवसको अवसरमा एड्स रोकथाममा ऐतिहासिक प्रगतिको घोषणा गरिएको छ । दुई पटक वार्षिक रूपमा लगाइने सुई लगाएपछि पुग्ने “सनलेन्का” सय प्रतिशत प्रभावकारी रहेको प्रमाणित भएको उल्लेख गरिएको छ । विश्व एड्स दिवसको अवसरमा यो औषधिले महिला र पुरुष दुवैमा एचआईभी संक्रमण रोक्न सक्ने उल्लेख गरियो ।

औषधि निर्माता कम्पनी गिलियाडले एचआइभीको उच्च जोखिममा रहेका अफ्रिका, दक्षिणपूर्व एशिया र क्यारिबियनका १ सय २० गरिब देशहरू सस्तो जनरलिक संस्करण उपलब्ध गराउने घोषणा गरेको छ । तर, यसमा ल्याटिन अमेरिकी देशहरू समावेश गरिएका छैनन् । ती देशहरुमा एचबईभीको प्रभाव बढ्दो रहेको भन्दै चिन्ता जाहेर गरिएको छ ।

यूएनएआईडीएसकी कार्यकारी निर्देशक विन्नी ब्यान्यिमाले यो औषधि अहिलेसम्मको सबैभन्दा प्रभावकारी रोकथाम उपाय भएको उल्लेख गर्दै यसले जोखिममा रहेका समुदायहरूलाई सहयोग पुर्‍याउन महत्वपूर्ण योगदान दिने बताएकी छन् ।

गिलियाडले विश्वको ७०% एचआईभी संक्रमित रहेको १८ अफ्रिकी देशहरूलाई सस्तो संस्करणको औषधी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । तर औषधिको उच्च मूल्य र पेटेन्टले यसको व्यापक प्रयोगमा बाधा पुर्‍याउन सक्ने चेतावनी पनि दिइएको छ । कोलम्बियाले एचआईभी उपचारमा पेटेन्ट निलम्बन गर्दै एक स्वास्थ्य संकटका रूपमा जनरलिक उत्पादनलाई अघि सारेको अनुभवले अन्य देशहरूलाई पनि त्यस्तै कदम चाल्न प्रेरणा गर्न सक्दछ ।

विश्वभर १० लाख नयाँ एचआईभी संक्रमण हरेक वर्ष थपिइरहेकोले एड्सको अन्त्यका लागि स्थापित विधि पर्याप्त नभएको एड्भोकेसी समूह हेल्थ ग्यापकी कार्यकारी निर्देशक एशिया रस्सेल बताउँछिन् । उनले ल्याटिन अमेरिकी देशहरूलाई पनि अनिवार्य लाइसेन्समार्फत औषधि सस्तो बनाउने रणनीति अपनाउन आग्रह गरिन् ।

यो औषधि विशेष गरी संवेदनशील समुदायका लागि महत्त्वपूर्ण मानिएको छ । यूएनएआईडीएसका अनुसार यसले वर्षमा दुई पटक मात्र क्लिनिक पुगेर संक्रमणबाट सुरक्षित हुने सुनिश्चितता दिनेछ । यस नयाँ उपलब्धिले विश्व एड्स अन्त्यतर्फ उन्मुख भएको ऐतिहासिक अवसर निम्त्याएको बताइएको छ । तर, यसलाई विश्वव्यापी रूपमा पहुँचयोग्य बनाउन अझै ठूलो चुनौती बाँकी छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ३८ बजे