चार दिने चीन भ्रमणका लागि प्रधानमन्त्री केपी ओली सोमबार दिउँसो प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले मंसिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्पमत्नी राधिका शाक्यका साथै ३९ जनाको सरकारी टोली बेइजिङ प्रस्थान गरेको हो । त्यति नै संख्यामा निजी क्षेत्रका प्रतिनिधि पनि बेइजिङ गएका छन् ।
प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो भने उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानमा चीन गएका हुन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका
प्रधानमन्त्री ओलीले चीनका को औपचारिक चार दिने भ्रमणका क्रममा मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने छन् । त्यही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् ।
सोमबार बिहान ११ बजे काठमाडौंबाट उडेको प्रधानमन्त्री ओली चढेको जहाज बेलुकी साढे ५ बजे बेइजिङ पुग्ने छ ।
मंगलबार प्रधानमन्त्री ओलीलेले चीनका प्रधानमन्त्री ली छ्यानसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने छन् भने चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । त्यस्तै चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने छन् ।
बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्न कार्यक्रम रहेको छ । त्यही दिन नेपाल-चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने र बेजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
बिहीबार उनी बेइजिङबाट नेपालका लागि उड्ने छन् । करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम रहेको छ ।
द्विपक्षीय वार्तामा उठ्ने विषयहरु
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले अनुदानमा सञ्चालन गर्ने गरी सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित दर्जन परियोजनाको सूची लिएर गएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसको अडानका कारण प्रधानमन्त्री ओलीले ऋण सम्बन्धी कुनै पनि परियोजना लिएर गएका छैनन् । कांग्रेस र एमालेले चीनबाट ऋण नलिने बरु अनुदानमा परियोजनाहरु प्रस्ताव गर्ने सहमति बनाएका छन् ।
सत्तारूढ कांग्रेस र एमालेले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अघि बढाउन बनाएको साझा अवधारणासहितको विकास परियोजनाको सूचीलाई नै मन्त्रिपरिषदबाट स्वीकृत गराई प्रधानमन्त्री ओलीले लिएर गएका हुन् ।
प्रधानमन्त्री ओली र चीनका समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा हुने द्विपक्षीय वार्ता यी विषयहरुमा छलफल हुने र सम्झौता गरिने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘बीआरआई फ्रेमवर्क’भित्र सञ्चालन हुने गरी नयाँ परियोजनाको सूचीहरुमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन् ।