१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

रवि र छविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी



पर्साको सानापाइला सहकारी ठगीको आरोपमा तत्कालिन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल बन्जाडे जोशीसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

साना पाइला सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट पक्राउको अनुमति लिएको हो ।

जीवी राईसहित यी तीनजनासमेतको संलग्नतामा ठगीको आरोप लागेको यो पाँचौँ सहकारी हो । यसअघि बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीको ठगी आरोपमा पनि अनुसन्धान भइरहेको छ ।

लामिछानेलाई अहिले चितवन लगेर प्रहरीले बयान लिइरहेको छ । यसअघि रवि र छविलाई बुटवल, पोखरा र काठमाडौँमा सहकारी ठगीको आरोपमा बयान लिइएको थियो ।

पोखरा, बुटवल र चितवनमा पुरक जाहेरीपछि अनुसन्धान भइरहेको हो । यस्तै काठमाडौँमा पनि अनुसन्धान चलिरहेको छ । अब पर्सामा पनि दोस्रो चरणको अनुसन्धान अगाडी बढ्ने भएको छ । जीबीविरुद्ध यसअघि नै मुद्दा दर्ता भएर उनी फरार छन् । तर यसअघिको अभियोग पत्रमा रवि र छविसहित छुटेका १४ जनाविरुद्ध अनुसन्धान गर्न लागेको बताइएको छ ।

सहकारी ठगी सम्बन्धी छानबिन गर्न गठित समितिले उनीहरुको नाम तोकेरै कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो । समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालय हुँदै पठाएको थियो । सोही प्रतिवेदनका आधारमा पर्सामा पनि दोस्रो चरणको अनुसन्धान हुन लागेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ५ : १४ बजे