बोइङको नयाँ स्टारलिनर क्रु क्याप्सुलमार्फत अन्तरिक्षमा पठाइएका नासाका अन्तरिक्षयात्रीहरु बच विलमोर र सुनी विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा अड्किएको बिहीबार छ महिना पुगेको छ । उनीहरू अझै दुई महिना त्यही बस्नु पर्ने छ ।
उनीहरु गत जून ५ मा एक साताको परीक्षण उडानका लागि त्यहाँ गएका थिए । तर, प्रक्षेपणको क्रममा थ्रस्टर फेल भएको र हेलियम लिकेजको समस्याका कारण उनीहरूको मिशन जटिल बन्यो । क्याप्सुललाई सुरक्षित मान्न नसकेपछि उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रकै फेब्रुअरी सम्म बस्नु पर्ने भएको छ ।
अन्तरिक्षमा लामो समय बिताउँदा केही चुनौती सामना गर्नु परेपनि दुबै अवकाशप्राप्त नौसेनाका क्याप्टेन विलमोर र विलियम्सले यस अवस्थालाई सहजै स्वीकारिरहेका छन् । विलमोरले भनेका छन्, “हामी बस कुरी रहेका छौं ।”
आईएसएस कमाण्डर पनि बनेकी सुनी विलियम्सले भनेकी छिन्, “अन्तरिक्षमा बाँच्नु आफैँमा रमाइलो छ ।” उनी आफ्नै नामको स्कूलका विद्यार्थीहरूसँग बुधवार कुराकानी गर्दै यस विषयमा खुलिन् ।
विलमोर र विलियम्सले विज्ञान प्रयोगहरूमा सहकार्य गर्नेदेखि टुटेको शौचालय मर्मत गर्नेसम्मका विभिन्न कार्यमा सहभागीता जनाएका छन् । उनीहरूले हावा भेन्ट सफा गर्नेदेखि बिरुवा सिँचाइसम्मको जिम्मेवारी पुरा गरेका छन् ।
नासाका अधिकारीहरूले यो मिशनमा विलमोर र विलियम्सको धैर्य र योगदानको खुलेर प्रशंसा गरेका छन् । नासाका प्रमुख स्वास्थ्य अधिकृत डा. जेडी पोल्कले भनेका छन्, “तिनीहरू यस मिशनका लागि उपयुक्त व्यक्तिहरु थिए ।”
यस मिशनले दुबै अन्तरिक्षयात्रीलाई आफ्ना परिवारबाट टाढा राखेको छ । विलमोरकी पत्नी, डियाना विलमोरले भन्छिन्, “यति लामो समय परिवारसँग छुट्टिनु पक्कै पनि गाह्रो छ, तर हामी फेब्रुअरीको प्रतीक्षामा छौँ ।”
सुनी विलियम्सले भने अन्तरिक्षमा आफ्नो दैनिकीलाई व्यवस्थित गर्दै दौडमा सहभागी हुने अभ्यास पनि गरिरहेकी छिन् । उनले यस वर्ष केप कोडको ७ माइल दौडमा सहभागीता जनाएकी थिइन् ।
बोइङले यो मिसनबाट प्राप्त भएका तथ्यहरूले भविष्यका समस्याहरू समाधान गर्न मद्दत हुने बताएको छ । कम्पनीले अगामी उडानका लागि तयारी गरिरहेको छ । फेब्रुअरीमा यो मिशन पूरा भएपछि दुबै अन्तरिक्षयात्रीले आफ्नो चुनौतीपूर्ण तर रोमाञ्चक यात्राको समापन गर्नेछन् । यसले अन्तरिक्ष मिशनको सम्भावित जटिलतालाई उजागर गर्दै भविष्यका सुधारका लागि नयाँ दिशाहरू तय गर्नेछ ।