अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनबाटै विवादास्पद कदमहरू चाल्ने संकेत गरेका छन् । उनले २०२१ मा क्यापिटोल दंगामा संलग्न आरोपितलाई क्षमादान दिने र अमेरिकामा जन्म लिने सबै व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले एनबीसीको मीट द प्रेस कार्यक्रममा भने, “यी मानिसहरू नरकीय अवस्थामा छन् ।” उनले दंगाका कारण कैदमा रहेका व्यक्तिहरूलाई “गन्दगीयुक्त र मानवताका लागि अयोग्य स्थानमा राखिएको” बताए । उनले भने, “मैले यसबारे पहिलो दिनमा नै कदम चाल्नेछु ।”
उनको योजना अनुसार अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने अमेरिकी संविधानको १४औं संशोधनलाई अब कार्यकारी आदेशमार्फत परिवर्तन गरिनेछ । उनले भने, “हामी यो परिवर्तन गर्नुपर्नेछ, आवश्यक परे जनतासँग जानुपर्नेछ । तर, यो अन्त्य गर्नैपर्छ ।”
ट्रम्पले २०२१ को क्यापिटोल दंगामा संलग्न सयौँ आरोपितलाई माफी दिने उल्लेख गर्दै “तिनीहरूलाई अन्यायपूर्ण रूपमा कैद गरिएको छ। म चाँडै कदम चाल्नेछु” भनेका छन् ।
साथै उनले अवैध आप्रवासीहरूलाई परिवारसहित देश फिर्ता पठाउने घोषणा पनि गरेका छन् । तर उनले ड्रिमरहरूका लागि भने, डेमोक्र्याट्ससँग सहकार्य गरी कुनै योजना बनाउन तयार रहेको संकेत दिए ।
उनले नाटोमा अमेरिकाको सदस्यता जारी राख्ने तर सदस्य राष्ट्रहरूले “आफ्ना खर्चहरु आफै उठाउनु पर्ने” शर्त राखेका छन् । युक्रेनलाई सहयोगमा कटौती गर्ने, आयातमा कर लगाउने, र सामाजिक सुरक्षा योजनालाई थप प्रभावकारी बनाउनेजस्ता अन्य योजना पनि प्रस्तुत गरेका छन् ।
उनले जो बाइडनविरुद्ध कुनै विशेष अनुसन्धान सुरु नगर्ने बताएका छन् । तर उनले क्यापिटोल दंगाको छानबिन गर्ने समितिका सदस्यहरू “जेल जानुपर्ने” टिप्पणी गरे । यसलाई पूर्व रिपब्लिकन सांसद लिज चेनीले “लोकतन्त्र र कानूनको शासनमाथि आक्रमण” भनेकी छन् ।
ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि यी वाचा कसरी कार्यान्वयन हुन्छन् भन्ने विषयले अमेरिकी राजनीतिमा नयाँ बहस सिर्जना गर्ने देखिएको छ ।