सरकारी वकिललाई मुद्दा बुझाइ सकेपनि अदालतमा पेश गर्न बाँकी भएको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
मंगलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न प्रहरीले गरेको आग्रह स्वीकार गर्दै म्याद थप गरेको हो ।
उनीहरु बिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान गरी कास्की प्रहरीले रायसहित प्रतिवेदन सोमबार नै सरकारी वकिलको कार्यालय कास्कीलाई बुझाइ सकिएको छ ।
अनुसन्धानको क्रममा असोज ६ मा पक्राउ परेका जोशीलाई नवौंपल्ट र कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई आठौंपल्ट म्याद थप भएको हो । जोशी पक्राउ परेको दिनलाई आधार मानेर सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने प्रावधानअनुरुप अन्तिमपल्ट ४ दिनको म्याद थपिएको छ ।
सरकारी वकिलले प्रतिवेदनको विश्लेषण गरेर मुद्दा चल्ने वा नचल्ने, चल्ने भए कस-कसलाई कुन–कुन अभियोगमा मुद्दा चलाउने भन्ने निर्क्यौल गर्न समय लाग्ने भएकाले म्याद प गर्न माग गरिएको थियो । लामिछानेलगायतका बिरुद्ध सहकारी ठगीमा अन्य चार जिल्लामा पनि पक्राउ पूर्जी जारी भइसकेको छ भने सबै ठाउँमा अनुसन्धान जारी छ ।









